युवा स्वयम्सेवकद्वारा महाधिवेशन सिंहावलोकन
भक्तपुर, २९ चैत। नेपाल मजदुर किसान पार्टी स्वयम्सेवक परिचालन समितिको आयोजनामा शनिबार महाधिवेशनबारे सिंहावलोकन कार्यक्रम भयो।
कार्यक्रममा विभिन्न उपसमितिका संयोजक र सदस्यहरूले महाधिवेशनका क्रममा आ–आफ्नो जिम्मेवारीको सफलता र कमीकमजोरीबारे समीक्षा गर्नुभएको थियो।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले पार्टीको छैटौं महाधिवेशन नेपालको कम्युनिष्ट आन्दोलनमा एक ऐतिहासिक पाइला भएको बताउँदै संशोधनवादी र अराजकतावादीहरूविरूद्ध एउटा नयाँ मोर्चा खुलेको छ भन्नुभयो।
महाधिवेशनले अनुमोदन गरेको पार्टीको अल्पकालीन लक्ष्य जनताको प्रजातन्त्र समाजवादी गणतन्त्रमा पुग्ने सही बाटो भएको उहाँले बताउनुभयो।
जनताको प्रजातन्त्र मजदुर र किसानहरूको नेतृत्वको सरकारसहितको समाजवादउन्मुख गणतन्त्र भएको बताउँदै उहाँले त्यसमा राष्ट्रिय पूँजीपति र प्रगतिशील बौद्धिक वर्गसमेत सहयोगीको रूपमा रहने बताउनुभयो।
काम गर्दा गल्ती र कमीकमजोरी हुने तर त्यसलाई अविलम्ब सच्याएर अगाडि बढ्नु नै कम्युनिष्ट आचरण भएको बताउँदै केन्द्रीय सचिव प्रजापतिले
महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई र स्वयम्सेवकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सभापतिको आसनबाट स्वयम्सेवक परिचालन समितिका संयोजक एवं नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष उकेश कवांले हरेक युवा कार्यकर्ता स्वयम्सेवक भएको चर्चा गर्दै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा सङ्घका केन्द्रीय सचिव प्रकाश, केन्द्रीय सल्लाहकार एवं स्वयंसेवक परिचालन समितिका सहसंयोजक रवीन्द्र खर्बुजा, कोषाध्यक्ष पाण्डव सुवाललगायतले बोल्नुभएको थियो।
|