जनताको प्रजातन्त्र समाजवादी आन्दोलनको सिलसिला
भक्तपुर, २९ चैत। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनताको प्रजातन्त्र समाजवादी सङ्घर्षकै सिलसिला रहेको बताउनुभएको छ।
नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार भएको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उहाँले जनताको प्रजातन्त्र समाजवाद र साम्यवाद स्थापनाको रणनीति पूरा गर्ने कार्यनीतिक कार्यक्रम भएको बताउनुभयो।
उहाँले भन्नुभयो –'रणनीति भनेको सरल शब्दमा उद्देश्य हो। हाम्रो उद्देश्य समाजवाद र साम्यवाद हो। उद्देश्य पूरा गर्न कहिलेकाहीं कार्यनीति बदल्नुपर्ने हुन्छ।'
पञ्चायत अन्त्यको रणनीति पूरा गर्न नेपाली काङ्ग्रेसले सशस्त्र र भारतमा बसेर सङ्घर्षको कार्यनीति त्यागेर नेपालभित्रै बसेर शान्तिपूर्ण सङ्घर्षको कार्यनीति अबलम्बन गरेको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष बिजुक्छेंले नेपालमा फैलिंदो कम्युनिष्ट प्रभाव र राजा–चीनको निकटता रोक्न त्यो कार्यनीतिले काम गरेको बताउनुभयो।
जनताको प्रजातन्त्रको सान्दर्भिकताबारे चर्चा गर्दै उहाँले भन्नुभयो –'हामीले समाजवादी व्यवस्था स्थापनाको कुरा गर्यौं। तर नेपालका कम्युनिष्टहरूले समाजवाद दुईसय वर्षपछि आउने भ्रम फैलाउँदै छन्। उनीहरू पूँजीवादी सरकारमा जान थालेे। यस्तो परिस्थितिमा समाजवाद स्थापनाको सिंढीका रूपमा जनताको प्रजातन्त्र अघि बढाइएको हो।'
क्रान्तिको लागि देशको भौतिक तथा वैचारिक पक्ष आवश्यक भएको व्याख्या गर्दै उहाँले युरोपका अन्य कम्युनिष्ट पार्टीहरूको तुलनामा बोल्सेविक पार्टी अनुभवी भएकोले अक्टोवर क्रान्ति सफल भएको बताउनुभयो।
पार्टीको आकार ठूलो हुँदैमा पूर्ण नहुने बताउँदै उहाँले माओवादी पार्टी बलियो थियो तर कुशल र व्यवस्थित नहुँदा भारतको हतियार बोकेर ध्वंश मचाउने बुद्धिमा लागेको बताउनुभयो।
'कम्युनिष्ट नामको पार्टी सरकारमा आउँदैमा क्रान्तिकारी हुँदैन, त्यो सरकारले गर्ने काम क्रान्तिकारी हुनुपर्छ,' उहाँले भन्नुभयो।
नयाँ प्रजातन्त्रमा आपसी सहयोगी दल, सहकारी र सामूहिक खेतीमार्फत उत्पादन वृद्धि हुने चर्चा गर्दै उहाँले उत्पादन साधनहरूको विकाससँगै जनताको चेतनास्तर वृद्धि हुने बताउनुभयो।
जनताको प्रजातन्त्र मजदुर–
किसानको नेतृत्वमा देशका प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पूँजीपति वर्गसमेतको व्यवस्था हुने चर्चा गर्दै अध्यक्ष रोहितले जनताको प्रजातन्त्रले विदेशी पूँजी र दलाल पूँजीवाद अन्त्य गर्ने बताउनुभयो।
'एमाले र एमाओवादी साँच्चै कम्युनिष्ट भए उनीहरू पनि जनताको प्रजातन्त्रको कार्य दिशामा आउनुपर्छ,' उहाँले थप्नुभयो।
नेमकिपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य प्रेम सुवालले मार्क्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधाराबारे व्यापक जनता सचेत बनेपछि क्रान्तिको परिस्थिति तयार हुने बताउनुभयो।
उहाँले जनताको प्रजातन्त्र जनताको खुट्टामा उभिएको प्रजातन्त्र भएको बताउँदै क्रान्तिको लागि देशको आन्तरिक र बाह्य परिस्थिति अनुकूल हुन आवश्यक भएको बताउनुभयो।
नेमकिपाका केन्द्रीय सदस्य एवं अर्का सभासद् डिल्लीप्रसाद काफ्लेले अहिलेको संविधानसभा पूँजीपति वर्गको हितमा काम गर्ने सभा बनिरहेको बताउनुभयो।
'संविधानसभा र व्यवस्थापिकामा हरेक दिन कुनै न कुनै जातजाति, भाषाभाषी र धर्मको कुरा उठ्ने गरेको छ। तर समग्र देश र व्यापक श्रमजीवी जनताको विषयमा बोल्ने सभासद् कम छन्।'– उहाँले भन्नुभयो।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईको सभापतित्वमा भएको कार्यकर्ता भेलामा समितिका सचिव सूर्यभक्त त्वाती र रामेश्वर बोहराले पनि बोल्नुभएको थियो। |