नयाँ वर्षमा नयाँ सन्देश के?
नयाँ वर्ष २०७१ को प्रारम्भ भयो। यो नयाँ वर्षको सन्दर्भमा सरकारले अघिल्लो वर्षमा के के राम्रो र नराम्रो काम गर्यो सोको एकातिर सिंहावलोकन गर्नु आवश्यक छ भने अर्कोतिर नयाँ वर्षमा के के काम गर्ने हो सोको नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ।
नयाँ वर्षले नयाँ सन्देश छर्नुपर्छ। विगतका कमी कमजोरी औंल्याएर अबका दिनमा सच्याइनुपर्छ या सुधार गरिनुपर्छ। विगतका गल्तीहरू दोहोर्याउँदै जाने हो, देश र जनताको सेवाभन्दा सत्तामुखी राजनीति या भागबण्डाको राजनीति गर्ने हो भने यो सरकारले नयाँ वर्षमा कुनै नयाँ काम गर्नेछैन। जनतामा नयाँ सन्देश छर्न सरकारले विधिको शासन चलाउनुपर्छ। परम्परागत या सीमित पूँजीपति वर्गको सेवामा होइन बहुमत जनताको सेवामा संविधान दिनुपर्छ।
स्थानीय निकायको निर्वाचन गरेर स्थानीय निकाय जनप्रतिनिधिमूलक बनाउनुपर्छ। यो वर्षमा लोडसेडिङ अन्त्य हुनुपर्छ। हाइब्रिड डीवाई ६९ को धान बिग्रेका भक्तपुर र काभ्रेका पीडित कृषकहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ र म्याद नाघेको बीउ वितरण गर्ने काष्ठमण्डप ट्रेड प्वाइन्टलाई कालोसूचीमा राखेर कारबाही गरिनुपर्छ। मागअनुसार खानेपानी सेवा आपूर्ति गरिनुपर्छ।
जनताका आधारभूत आवश्यकता सर्वसुलभ हुनुपर्छ। कृषकहरूको मागअनुसार देशभर रसायनिक मल सस्तो र सर्वसुलभ हुनुपर्छ। उच्च शिक्षा सम्म निःशुल्क र अनिवार्य शिक्षाको बन्दोबस्त गरिनुपर्छ। अस्थायी शिक्षकहरूको पेशा सुनिश्चित गरिनुपर्छ। महँगो खर्चका कारण उपचार गर्न नसकेर मर्न बाध्य मृगौला, दिमाग, मुटु, हाडजोर्नीजस्ता बिरामी या पीडितहरूलाई राज्यले निःशुल्क उपचारको बन्दोबस्त गर्नुपर्छ।
ज्येष्ठ नागरिकहरूको लागि निःशुल्क उपचार, निःशुल्क भाडा खर्च र निःशुल्क आदर निकेतनको व्यवस्था गरिनुपर्छ। स्वदेशमै रसायनिक मल कारखाना खोल्नुपर्छ। यसरी नै देश र जनताको सेवा हुने, अन्य विकास तथा सुधारका काम राज्यले गर्नुपर्छ। अनिमात्र नयाँ वर्षको सार हुनछ।
|