|
शिक्षकलाई रिहा गर्न माग
काठमाडौं, ३० चैत। विभिन्न ११ शिक्षक सङ्घ सङ्गठनले चैत २६ गते गिरफ्तार गरिएका अस्थायी शिक्षकलाई विनाशर्त तुरून्त रिहा गर्नुपर्ने माग गरेका छन्।नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल शिक्षक युनियन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल विद्यालय कर्मचारी परिषद्, नेपाल विद्यालय कर्मचारी परिषद्, नेपाल संस्थागत विद्यालय शिक्षक युनियन र राहत शिक्षक सङ्घर्ष समितिले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। चैत २६ गते आठजना अस्थायी शिक्षकले संविधानसभाको दर्शकदीर्घाबाट 'अस्थायी शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर ! विगतमा गरिएको सम्झौता कार्यान्वयन गर !' भनी नारा लगाएका थिए।
नाराबाजी गर्ने शिक्षकहरू झक्कु बुढा, दिनेश थापा, उद्धव भण्डारी, जयनारायण चौधरी, कल्पना मादेन, रूपा चौधरी, सुरेश चौधरी र केशव पोखरेललाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त हनुमानढोकामा राखिएको छ।
हिरासतमा राखिएका सम्पूर्ण शिक्षकलाई विनाशर्त तुरून्त रिहा गरी शिक्षक/कर्मचारीसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने अन्यथा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक/कर्मचारी सशक्त आन्दोलनमा जाने विज्ञप्तिमा उल्लेख छ।
गत पुस २ गतेदेखि अस्थायी शिक्षकहरू विगतमा शिक्षा मन्त्रालयसँग गरिएका सहमति कार्यान्वयन गरियोस् भनी रत्नपार्कमा अनसन बसिरहेका छन्।
|