अस्थायी शिक्षकलाई छुट्टै प्रतिस्पर्धाबाट स्थायीको माग
भक्तपुर, १ वैशाख। नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समिति र नेपाल अस्थायी शिक्षक सङ्घर्ष समिति केन्द्रीय कार्य समिति ०६६ ले शिक्षकहरूको मागलाई सम्बोधन गर्नुको सट्टा पक्राउ गरी हालसम्म मुक्त नगरेकोमा विरोध गर्दै विनाशर्त तत्काल रिहाइका साथ सम्पूर्ण अस्थायी शिक्षकहरूलाई छुट्टै प्रतिस्पर्धाबाट स्थायी गर्न जोडदार माग गरेका छन्।
अस्थायी शिक्षकको आन्दोलनलाई बेवास्ता गरेका कारण आवश्यक कानुनको व्यवस्था गरी कार्यान्वयन गराउन आफ्नो आवाज संसदको दर्शक दीर्घामार्फत गत चैत २६ गते संसदसम्म पुर्याएका शिक्षकहरूलाई पक्राउ गरी हालसम्म रिहा नगरेकोमा सो समितिले सोमबार आपत्ति जनाउँदै विरोध गरेको हो।
सो संयुक्त विज्ञप्तिमा भनिएको छ – सरकारको अकर्मण्यता र अस्थायी शिक्षकसम्बन्धी स्पष्ट नीति नहुँदा लामो समयदेखि अस्थायी शिक्षकहरू पटक–पटक सडक आन्दोलनमा उत्रन बाध्य भएका छन्। अस्थायी शिक्षकलगायतका शैक्षिक समस्याबारेमा नेक्राशिसङ्घ र नेपाल अस्थायी शिक्षक सङ्घर्ष समिति २०६६ अनवरत सङ्घर्षरत छन्। गत २०६९ पुस २ गतेदेखि अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्न माग राखी गरेका २४ घण्टे रिले अनसन हालसम्म जारी छ। अनसन आन्दोलन चार महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेका कारण शिक्षकहरु थप आन्दोलित छन्। राज्यलाई लामो समय योगदान गरिसकेका अस्थायी शिक्षकहरूको रोजीरोटीको सरकारको बेवास्ताले सबैलाई आक्रोशित तुल्याएको छ।
नेपाल अस्थायी शिक्षक सङ्घर्ष समिति २०६६ ले गत २०६८ जेठ २६, २०६९ फागुन १, पुस १७, चैत ६, १४ र १८ गते र २०७० पुस १४ गते शिक्षामन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, शिक्षक सेवा आयोग अध्यक्षसामु पटक–पटक ज्ञापनपत्र, स्मरणपत्रमार्फत अस्थायी शिक्षक स्थायी गर्ने मागका साथै कार्यरत स्थायी शिक्षकहरूको रोजीरोटी खोसिने गरी शिक्षकमाथि खेलवाड गरे परिणाम भयानक हुने र यसको जिम्मेवार सरकार स्वयं हुने जानकारी गराइसकेको स्मरण गराउँछौं।
|