लिङ्गो ढालियो
भक्तपुर, १ वैशाख। बिस्केट जात्राको पाँचौं दिन सोमबार योसिंखेलमा अघिल्लो दिन उठाइएको योसिंद्यो (लिङ्गो) ढालिएको छ।
अघिल्लो दिन योसिंखेल पुर्याइएको भैरवको रथलाई लिङ्गोतिर फर्काएपछि आइतबार राती उठाइएको लिङ्गो सोमबार साँझ ढालिएको हो।
तान्त्रिक विधिअनुसार इन्द्रध्वजासहित तयार पारिएको लिङ्गो जात्रा चलाएपछि शत्रु नास हुने जनविश्वास छ।
लिङ्गो ढाल्ने क्रममा तानातान हुँदा भाँचिन पुगेको थियो। लिङ्गो ढाल्नु अघि बिस्केट जात्राको लिङ्गो हेर्न हजारौं हजार मानिस योसिंखेल आएका थिए।
लिङ्गो ढालिएपछि भद्रकाली र भैरवको रथ खँला टोलमा ल्याएर सोमबार बेलुकी नै जुधाइएको थियो।
आजदेखि टोलटोलमा स्थानीय जात्रा हुन्छ। ब्रह्मायणी, माहेश्वरी, महालक्ष्मी, महाकाली, टिप्वा जात्रा, छुमा गणेश जात्रापछि स्थानीय जात्रापछि सगुन चढाउने जात्रा (द्यः स्वगं बियेगु जात्रा) हुन्छ।
जात्राको अन्तिम दिन वैशाख ५ गते तालाक्वमा रहेको हात नभएको लिङ्गो ढालिन्छ र भैरवको रथ तानी समापन गरिन्छ।
|