छैटौं पटक जुजुभाइले जिब्रो छेडे
भक्तपुर, २ वैशाख। बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मङ्गलबार दिउँसो सम्पन्न भएको छ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेका थिए। जात्रामा थिमी बोडे–१ का ३४ वर्षीय जुजुभाइ बाँस श्रेष्ठले छैटौंपटक सयौं मानिसका अगाडि जिब्रो छेडेका हुन्।
कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो १ः३५ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले जिब्रो छेडिएको थियो।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुमेका श्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको काठमा ठोकिएको थियो।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए। प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लगाउनु नपर्ने विश्वास गरिन्छ।
किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थ्याे। यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर एक महिनासम्म कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे। पछि नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि ती ख्याक बोडेभित्र पस्न खोजे।
बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिमतर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो। भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरू बाँधिदिए।
पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गर्हौ भारी बोकाएर बोडे घुमाए। कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैं सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ।
एकरात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ।
वाचाअनुरूप सातपटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोहीअनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किम्बदन्ती रहेको
छ।
यसो गर्दा बोडेमा महाभूकम्प नजाने, अनिकाल नलाग्ने र कुनै पनि रोगको महामारी नहुने जनविश्वास रहेको छ।
|