राहदानीमा राहत: आवेदन सङ्कलन काउन्टर थपिए
काठमाडौं, २ वैशाख। सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ।
राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडभाड र उनीहरूले झेल्नु परेको सास्तीलाई दृष्टिगत गरी सरकारले विद्यमान ६ वटा फाराम सङ्कलन काउन्टरलाई बढाएर नौवटामा पुर्याएको हो।
राहदानी लिने सर्वसाधारणको भिड राहदानी विभागमा सधैं लागिरहने र सेवाग्राहीले सास्ती खेप्नुपरेकाले उनीहरूलाई राहत दिन काउन्टर थपिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताउनुभयो।
अब राहदानी वितरणमा पनि सहजता ल्याउन कम्प्युटर इञ्जिनियरलगायत १५ जना जनशक्तिको व्यवस्था गर्न विभागले प्रयास गरेको जानकारी दिँदै उहाँले अर्थ मन्त्रालयबाट दरबन्दी स्वीकृत हुनासाथ वितरण प्रक्रियालाई सरल एवम् सहज बनाइने
बताउनुभयो।
'करार सेवामा १५ जना जनशक्ति थप्ने कार्ययोजना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्तुत भइसकेको छ, निर्णय हुनेबित्तिकै राहदानीसम्बन्धी समस्या समाधान गर्न सहज हुन्छ,' – राहदानी फाराम सङ्कलनको समस्या प्रायः समाप्त भएको तर वितरणको झमेला नटुङ्गिएको बताउँदै उहाँले भन्नुभयो।
मौजुदा कम्प्युटर इञ्जिनियर र अन्य प्राविधिक कर्मचारीले बिहान ७ देखि राति ७ बजेसम्म काम गरेर दैनिक आठ हजारको हाराहारीमा राहदानी तयार गरिरहेका छन् तर पर्याप्त जनशक्तिको अभावमा तयार भइसकेका राहदानी वितरण विभागलाई चुनौती बनेको छ।
यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले १५ जना जनशक्ति विभागलाई उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै त्यसबारेमा आफूले अर्थमन्त्रीसँग छलफल गरेको जानकारी दिनुभयो।
“अर्थमन्त्रीज्यू अहिले विदेशमा रहेकाले उहाँ स्वदेश फर्कने बित्तिकै थाँती रहेको काम पूरा गराउनेतर्फ लाग्नेछु”,– मन्त्री पाण्डेले भन्नुभयो।
चार वर्षको अवधिमा विभागले तीन लाख ३१ हजारभन्दा बढी राहदानी नवीकरण, हराएका ६९ हजार ६७४ र हस्तलिखित तीन लाख २६ हजार ८४५ राहदानी प्रतिस्थापन गरिसकेको छ।
सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमानुसार नेपालमा पनि एमआरपी लिनेहरूको घुइँचो बढेको हो।
साथै वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकाले पनि राहदानी लिनेको लर्को लाग्ने गरेको छ। |