सर्वदलीय बैठकको विषय अस्पष्ट
काठमाडौं, २ वैशाख। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय र स्वतन्त्र सभासद्हरूको बैठक मङ्गलबार दिउँसो १ः३० बजे सुरू भयो। नेका प्रमुख सचेतक चिनीकाजी श्रेष्ठले समितिका सभापति र सरकारबाट मनोनीत हुने २६ जना सभासद्बारे छलफल हुने बताए पनि बैठकमा प्रम सुशील कोइरालाले त्यो विषय स्पष्टसँग राख्नुभएन। प्रम कोइरालाले नयाँ वर्ष २०७१ साल ठूलो आशा र भरोसाका साथ आएको, विदेशी लगानी ल्याउनेबारे विमस्केटमा छलफल भएको र बेपत्ता छानबिन र सत्य निरूपण आयोग गठनबारे सुझाव माग गर्नुभयो।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले दुईदलीय, तीनदलीय, चारदलीय तानाशाहीको सुरूदेखि नै विरोध गर्दै आएको चर्चा गर्दै दण्डहीनताले पूँजी विदेश पलायन भएको उल्लेख गर्नुभयो।
उहाँले प्रमुख प्रतिपक्षीलाई सरकारले लगाम लगाउन नहुने उल्लेख गर्दै सरकारले सबै दलसँग सुझाव माग्नु आवश्यक भएको चर्चा गर्नुभयो।
सरकारमा बसेकाले थाहा नभएको बताएको, केहीले मन्त्री बनाउनुपर्ने र केहीले मन्त्रीको सङ्ख्या थप्नुपर्ने बताएकोमा आश्चर्य प्रकट गदर्ैै अध्यक्ष बिजुक्छेंले हिजो गृहमन्त्री भएकाहरू केही गर्न नसकेको हुँदा अहिले ती व्यक्तिहरूले सरकारको आलोचना गर्नुको तुक नभएको स्पष्ट गर्नुभयो।
उहाँले अन्तरिम संविधानमा व्यवस्था भएको सात दलको संयन्त्र केही व्यक्तिको भनाइमा लागेर विघटन गरिएको हुँदा अन्योल बढ्दै गएको उल्लेख गर्नुभयो।
बैठकमा राप्रपा नेपालका कमल थापा, मधेसी फोरमका विजय गच्छदार, सद्भावनाका राजेन्द्र महतो, फोरम नेपालका उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी एमाओवादीको उपस्थिति नभएको सर्वदलीय बैठकको औचित्य नभएको बताए।
सङ्घीय समाजवादीका अशोककुमार राई र राजमोका चित्रबहादुर केसीले बैठक बोलाइएको सकारात्मक बताए।
भर्खरै सरकारमा सामेल सीपी मैनालीले आफू सरकारभित्र भएर पनि थाहा नभएको बताए।
|