September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

किम इल सङ साम्राज्यवादविरोधी, स्वाधीनताप्रेमी र समाजवाद पक्षधर जनताका नेता

भक्तपुर, २ वैशाख। विश्व कम्युनिष्ट आन्दोलनका नेता एवं प्रजग कोरियाका राष्ट्रपति किम इल सङको १०२ औं जन्म दिवसको अवसरमा मङ्गलबार प्रवचन कार्यक्रम भयो।  

कोरिया पुनः एकीकरण सहयोग समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले किम इल सङ कोरियाको मात्र नभई साम्राज्यवादविरोधी, स्वाधीनताप्रेमी र समाजवाद पक्षधर जनताका अन्तर्राष्ट्रिय नेता भएको बताउनुभयो।  

'सोभियत सङ्घको विघटनपश्चात् संसारभरका समाजवाद पक्षधर जनताबीच अन्योल फैलिएको अवस्थामा किम इल सङले प्योङयाङमा समाजवादी तथा कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी उत्साह सञ्चार गर्नुभयो', अध्यक्ष बिजुक्छेंले भन्नुभयो।  

कोरिया, भियतनाम र क्युवाजस्ता भौगोलिक रूपमा साना, स्वतन्त्रता र समाजवादका लागि लडेका देशहरूबाट नेपालले सिक्न सक्ने चर्चा गर्दै उहाँले भन्नुभयो –'ती देशहरूको अनुभवले हाम्रा धेरै समस्या समाधान गर्न मद्दत पुर्‍याउन सक्छ।' 

उहाँले कोरियाली समाजवाद र साम्राज्यवादविरोधी सङ्घर्षप्रति नेमकिपाको ऐक्यबद्धता अन्तर्राष्ट्रिय कर्तव्य भएको उल्लेख गर्दै भन्नुभयो –'कोरियाली श्रमिक पार्टीसँगको मित्रतालाई नेमकिपाले अगाडि बढाउनेछ।' 

समसामयिक राष्ट्रिय राजनीतिबारे विचार व्यक्त गर्दै उहाँले पश्चिमा राजनीतिक प्रणाली स्वीकारूञ्जेल प्रमुख प्रतिपक्षलाई  सरकारको कठपुतली बनाउनु गलत हुने बताउनुभयो।  

उहाँले शासक दलका व्यवहारप्रति खेद प्रकट गर्दै भन्नुभयो –'तीन दलीय वा चार दलीय तानाशाह प्रजातन्त्र होइन, हामी त्यसको विरोधी हौं।' 

नेमकिपाका विदेश विभाग प्रमुख एवं कोरिया पुनःएकीकरण सहयोग समितिका अध्यक्ष प्रेम सुवालले किम इल सङको सबल नेतृत्वका कारण कोरियाली शैलीको समाजवादको स्थापना सम्भव भएको बताउनुभयो।  

उहाँले कोरियाली जनताको चाहना हुँदा–हुँदै संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपका कारण कोरिया पुनःएकीकरण हुन नसकेको बताउनुभयो।  

उहाँले भन्नुभयो –'ऊर्जाको लागि प्रजग कोरियाले बनाएका आयोजनालाई साम्राज्यवादीहरूले आणविक हतियारको झुटा आरोप लगाएर थप नाकाबन्दी थोपर्न खोजेका छन्।' 

नेपालका लागि प्रजग कोरियाली राजदुत किम योङ हकले राजनीति, अर्थतन्त्र र सैन्य क्षेत्रमा स्वाधिनता नै संक्षेपमा जुछे विचारधारा भएको प्रकाश पार्दै जुछे विचारधारा र सोन्गुन नीतिलाई अहिले मार्सल किम जङ उनले सफलतापूर्वक अगाडि बढाइरहेको बताउनुभयो।  

कोरियाली जनता भविष्यप्रति आशावादी रहेको बताउँदै उहाँले भन्नुभयो–'कोरियामा नेता, जनता र श्रमिक पार्टीको एकमनको एकताले नै आजको सफलता सम्भव भएको हो।' 

संरा अमेरिकालगायत कुनै पनि साम्राज्यवादी शक्तिसँग प्रजग कोरिया नडराउने भन्दै उहाँले 'सबै कोरियाली जनता अन्तिम विजयतर्फ अगाडि बढौं' भन्ने मार्सल किम जङ उनको नारामा कोरियाली जनता अगाडि बढिरहेको बताउनुभयो।  

कोरिया अध्ययन मण्डलका सदस्य धिरेन्द्रमान बिजुक्छेंले किम इल सङ कोरियाली क्रान्तिको एकताको प्रतीक रहेको बताउनुभयो।  

कोरिया पुनः एकीकरण समितिका सचिव सरोजराज गोसाईंले जनताको शक्ति र जनतामाथि विश्वास गर्नु नै जुछे विचारधाराको मूलतत्त्व भएको बताउनुभयो।  

कार्यक्रममा आयोजक समितिका प्रेमजन थापा र कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो।  

प्रवचन कार्यक्रममा किम इल सङसम्बन्धित तस्बिर तथा पुस्तक पनि प्रदर्शन गरिएको थियो।