दुई साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक
काठमाडौं, ३ वैशाख। जनक शिक्षा सामाग्री केन्द्रले दुई साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसक्ने भएको छ।
केन्द्रले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पाठ्यपुस्तक पुर्याउन बाँकी सबै जिल्लामा वितरण गर्न लागिएको जानकारी दिएको छ।
केन्द्रका अनुसार यही शैक्षिक सत्रभित्र सबै क्षेत्रका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याउने नीति अनुरुप दुई करोड २५ लाख थानमध्ये एक करोड ५२ लाख वितरण भइसकेको छ।
पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले कुनै पनि बालबालिका पाठ्यपुस्तकबाट बञ्चित हुन नदिन सम्बन्धित निकायलाई आग्रह
गर्नुभयो।
उहाँले भौगोलिक विकटताका कारण पुस्तक पुग्न नसकेको भन्दै सुगम क्षेत्रमा २४ घण्टाभित्रै र अन्य ठाउँमा दुई साताभित्र पुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले केन्द्रले छिटोभन्दा छिटो पुस्तक देशैभर पुर्याउने दृढता व्यक्त गर्नुभयो।
|