वैदेशिक व्यापारमा १८.४ प्रतिशतले वृद्धि
काठमाडौं, ३ वैशाख। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०७०/७१ को पहिलो आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले वृद्धि भएको जनाएको छ।
समीक्षा अवधिमा कुल निर्यात रू.पाँच खर्ब २० अर्ब ४८ करोड पुगेको र कुल व्यापारमा निकासी तथा आयातको योगदान क्रमशः ११.७ प्रतिशत र ८८.३ प्रतिशत रहेको केन्द्रले जनाएको छ।
सो अवधिमा कुल निकासी २०.३ प्रतिशतले वृद्धि भई रू. ६० अर्ब ९८ करोड तथा कुल पैठारीमा १८.१ प्रतिशतले वृद्धि भई रू. चार खर्ब ५९ अर्ब ५० करोड पुगेको छ।
निकासी भएका प्रमुख वस्तुहरूमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल र जडीबुटी रहेका छन्।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ३६.१ प्रतिशतले वृद्धि भएर रू. चार अर्ब ८० करोड, तयारी पोशाकको निर्यातमा ५२.८ प्रतिशतले वृद्धि भएर रू.तीन अर्ब ६२ करोड पुगेको छ।
यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनको निर्यातमा ३.९ प्रतिशतले वृद्धि भएर रू. आठ अर्ब ३६ करोड र पोलिस्टर तथा अन्य धागोमा ६.१ प्रतिशतले वृद्धि भएर रू. चार अर्ब तीन करोड पुगेको भए तापनि मुसुरोको दालमा ४३.८ प्रतिशतले र्हास आई रू.एक अर्ब ३३ करोड रहेको उल्लेख गरिएको छ।
सो अवधिमा अवधिमा रू.९३ करोडको छाला, रू. तीन अर्ब ३४ करोडको अलैंची, रू. एक अर्ब ३३ करोडको चिया, रू. ३२ करोडको अदुवा, रू. ५१ करोडको चाउचाउ, रू. ८४ करोडको जडीबुटी, रू. ६६ करोडको टुथपेस्ट, रू. ३८ करोडको हस्तकलाका सामान र रू. ३९ करोडको नेपाली हातेकागज निकासी भएको केन्द्रले उल्लेख गरेको छ।
त्यसैगरी सो अवधिमा रू. दुई करोड ६८ लाखको कफी, रू. चार ८२ लाखको मैदा, रू. ४५ करोड ९८ लाखको पीना तथा रू. दुई करोड ९३ लाखको साबुन निर्यात भएको छ।
सोही अवधिमा आयाततर्फ अघिल्ल्ाो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा ५.४ प्रतिशतले वृद्धि भई रू. ४० अर्ब ९ करोड, पेट्रोलियम पदार्थमा २४.८ प्रतिशतले वृद्धि भई रू. ८७ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा १८.६ प्रतिशतले वृद्धि भई रू. २६ अर्ब ६१ करोड र इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा १७.२ प्रतिशतलेे वृद्धि भर्ई रू. १८ अर्ब ८५ करोड पुगेको छ।
औषधिमा दुई प्रतिशतलेे वृद्धि भएर रू. १० अर्ब ३२ करोड, मेसिनरी तथा तिनका सामग्रीमा २०.६ प्रतिशतले वृद्धि भई रू. २५ अर्ब ५२ करोड, पोलिथिन २६.७ प्रतिशतले वृद्धि भई रू. १० अर्ब ३६ करोड, कच्चा पाम आयलमा २४.३ प्रतिशतले वृद्धि भई रू. दुई अर्ब ६८ करोड, दुरसञ्चारका सामग्रीमा २१.३ प्रतिशतलेे वृद्धि भई रू. नौ ५६ करोड र रसायनमा १०.७ प्रतिशतले वृद्धि भई रू. पाँच अर्ब पाँच करोड पुगेको छ।
यसैगरी रू. १७ अर्ब नौ करोड बराबरको सुन, रू. ११ अर्ब
४८ करोड बराबरको रसायनिक मल तथा रु. एक अर्ब ५३ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका सामग्री आयात भएका छन्। साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर रू. दुई अर्ब ९८ कोड, भटमासको कच्चा तेल रू. १० अर्ब ८८ करोड, तयारी पोशाक रू. सात अर्ब ७१ करोड, खाद्यान्न रू. १६ अर्ब ६७ करोड, ऊन रू. दुई अर्ब ११ करोडको आयात भएको छ।
। केन्द्रका निर्देशक सुयस खनालका अनुसार परम्परागत निर्यातजन्य वस्तुहरू जस्तै ऊनी गलैंचा, तयारी पोशाकका साथै परम्परागत कृषिजन्य वस्तुको निर्यातमा केही सुधार देखिएको छ। सो अवधिमा अधिकांश प्रमुख वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको छ। निर्देशक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा १७.८ प्रतिशतले व्यापार घाटा भएको जानकारी दिनुभयो।
|