संसद अवरूद्ध: को झुक्ला?
काठमाडौं, ३ वैशाख। संविधानसभा व्यवस्थापिका –संसदको बुधबारको बैठक १२ः१५ बजे सुरू भयो। बैठक सुरू भएपछि एनेकपा माओवादीका सभासद्हरूले उठेर बैठक अवरोध गरे। सभामुख सुवासचन्द्र नेम्वाङले एनेकपा माओवादीका सभासद् बाबुराम भट्टराईलाई किन बैठक आरोप गर्न खोजेको भनी बोल्ने समय दिए। भट्टराईले सरकारले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठनबारे षड्यन्त्र गरेको, नन्दप्रसाद अधिकारी दम्पत्तिको मुद्दालाई दर्ता गरी चारबुँदे सहमतिविपरीत गएको र युद्धकालका मुद्दालाई उठाएर शान्ति प्रक्रियालाई भाँडेर संविधान निर्माणमा अवरोध खडा गरेको चर्चा गर्दै १२ बुँदे समझदारी पछि पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको पालामा नै वर्तमान प्रम सुशील कोइरालाले अवरोध खडा गरेको उल्लेख गरी बैठक चल्न नदिने बताए। त्यसपछि सभामुखले दिउँसो १२ः१५ बजे एक घण्टाको लागि बैठक स्थगित गर्नुभयो।
स्थगित बैठक करिब ३ बजेपछि सुरू भएको बैठकमा एमाओवादी सभासद्हरूले उठेर अवरोध गरे। त्यसपछि सभामुखले एमाओवादीका जनार्दन शर्मालाई बोल्न समय दिनुभयो। बोल्ने क्रममा शर्माले २०४८ सालमा नेकाको सरकार गठन भएपछि रोल्पा, रूकुममा दमन गरेको चर्चा गर्दै प्रम सुशील कोइरालाले हवाइजहाज अपहरण गरेकोलाई पनि मुद्दा चलाउनुपर्ने बताए।
एमाओवादीको संसद अवरूद्ध चालू नै भएपछि बैठक वैशाख ४ गते ३ बजेसम्मको लागि स्थगित गरियो। नेका एमालेको सरकार र एमाओवादीतर्फ कसले अडान छोड्ला र झुक्ला एक–दुई दिनमा स्पष्ट हुनेछ। |