विवादमा खुकुरी प्रहार हुँदा एकको मृत्यु
काभ्रे, ४ वैशाख। मादक पदार्थ सेवनपछि भएको विवादपछि भएको खुकुरी प्रहारमा एक जनाको ज्यान गएको छ। काभ्रेको डराउनेपोखरी गाउँ विकास समिति–८ स्थित हुमागाँईथोकमा मङ्गलबार राति स्थानीय गणेश लाखे परियारको खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मादक पदार्थ सेवनपछि विवाद भएपछि गणेशले दाङ बेलझुण्डी– ९ बस्ने २० वर्षिय नवराज भन्ने नन्दप्रसाद विकलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए।
डराउनेपोखरी–८ मा विगत तीन वर्षदेखि इँटा पार्ने काम गर्दै आएका नन्दप्रसादकी श्रीमतीलाई गणेशले मादक पदार्थ सेवन गरी जथाभावी, गालीगलौज गरेपछि गणेशलाई छेक्न गएका नन्दप्रसादलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। नन्दप्रसाद र गणेशबीच झगडा भएपछि उनीहरूको झगडा मिलाउन गएका दाङ चरिगाउा– ६ बस्ने १८ वर्षका हेम नेपालीलाई समेत कुटपिट गरी घाइते बनाएका थिए। नन्दप्रसादको हत्या गर्ने गणेशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा लिएको थियो। उनलाई कर्तव्य ज्यान मुद्दा चलाई जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
|