September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

पशुको क्षति भएपछि बीमाप्रति आकर्षण बढ्दै

काभ्रे, ४ वैशाख। पशुजन्य महामारी रोगका कारण काभ्रेमा पशुको क्षति भएपछि पशु बीमाप्रति कृषकको आकर्षण बढ्न थालेको छ।  

जिल्ला पशुसेवा कार्यालय काभ्रेका प्रमुख डा. सम्झना काफ्लेले पशुको बीमा भएको भए खोरेतको महामारीबाट कृषकले क्षति व्यहोर्नुपर्ने अवस्था आउँदैनथ्यो भन्नुभयो।  

उहाँले कृषकको आकाङ्क्षा बढी मात्रामा सामुदायिक बीमाप्रति भएको उल्लेख गर्दै खोरेतको महामारीले कृषकमा बीमा गर्नुपर्छ भन्ने सोचको विकास भएको बताउनुभयो।  

कृषि विकास बैङ्क बनेपाका प्रबन्धक सुन्दर खतिवडाले काभ्रेमा कुल ६ हजार ७०० पशुको बीमा भएको उल्लेख गर्दै अहिलेसम्म रु. ९३ लाख बीमाका लागि अनुदानमा खर्च भएको बताउनुभयो।  

उहाँले काभ्रेका लागि यस आर्थिक वर्षमा रु. एक करोड ३५ लाखको नयाँ कार्यक्रम आउन लागेको जानकारी दिंदै बीमाको पैसा ठीक ठाउँमा प्रयोग भएको छ वा छैन भनेर छड्के जाँच गरिएको बताउनुभयो।  

पशु चिकित्सक मणि सापकोटाले महामारीजन्य रोगबाट कृषकले पशुको क्षति व्यहोरेपछि बीमाप्रति कृषकको उत्साह बढेको बताउनुभयो।  

जिल्ला पशु बीमा समिति काभ्रेका संयोजक दीपकप्रसाद पौडेलले काभ्रेको ३० वटा गाविसमा बीमा कार्यक्रम सञ्चालन भएको जानकारी दिंदै १७ वटा पशु बीमा समिति र समूहले कृषि विकास बैङ्कमार्फत विगत दुई वर्षदेखि नेपाल सरकारबाट प्राप्त प्रिमियम अनुदान पाउँदै आएको बताउनुभयो।  

अगुवा कृषक सोमप्रसाद हुमागाईंले पशु धन सुरक्षण कार्यक्रम लागू भएपछि त्यसले बिमित पशुबाट उत्पादनमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो। 

काभ्रेमा करिब एक लाख बीमायोग्य पशुमध्ये झण्डै १० हजार पशुको मात्रै बीमा भएको छ। काभ्रेमा पशुपालनबाट वार्षिक रूपमा कुल ५४ हजार ७५० मेटि्रक टन दूध उत्पादन हँुदै आएको छ। 

काभ्रेमा केही महिनाअघि देखिएको खोरेत रोगबाट कुल रु. एक करोड बराबरको क्षति भएको पशु कार्यालयले जनाएको छ।