उपत्यकामा दिन प्रतिदिन खानेपानी सङ्कट
#readmoe#सीवी अधिकारी
काठमाडौं, ५ वैशाख। काठमाडौं उपत्यकामा अत्याधिक जनसङ्ख्या वृद्धिले खानेपानीको मागअनुसार आपूर्ति हुन सकिरहेको छैन।
वर्तमान प्रणालीमा चुहावट तथा सरोकारवाला निकायबीच आपसी समन्वय अभावका कारण खानेपानी वितरणको कार्य थप चुनौतीपूर्ण बन्दै गएको हो।
उपत्यकाभित्रका सम्भावित खानेपानीका सबै स्रोत र भूमिगत स्रोतसमेत प्रयोग भइरहँदा पनि अभाव पूर्ति हुन सकेको छैन। करिब काठमाडौंको ३४ लाख जनसङ्ख्यालाई प्रतिदिन ४० करोड लिटर पानीको आवश्यकता छ, तर करिब १६ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ।
काठमाडौं उपत्यकाको सहरी तथा सोसाग जोडिएका केही गाविस क्षेत्रभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले वर्षायाममा १६ करोड लिटर र सुख्खा आयममा १० करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ।
केयुकेलले मेलम्चीबाट पानी प्राप्त नहुँदासम्म उपत्यकाभित्र थप सतह स्रोत भूमिगत स्रोतको उपयोग गरी तीन करोड ५० लाख लिटर र वर्तमान प्रणालीमा चुहावट नियन्त्रण गरी थप २० लाख लिटर पानी उपभोक्तालाई वितरण गर्ने लक्ष लिएको छ।
हाल केयुकेलले ३५ वटा सतह स्रोत र ६५ वटा डिप ट्युवेलबाट पानी उत्पादन गरिरहेको छ।
उपत्यकामा विद्यमान खानेपानी वितरण प्रणाली समानुपातिक र न्यायोचित नभएको तथा चुहावट नियन्त्रण गरी गुणस्तरीय पानी उपभोक्तालाई दिन नसकेको जनगुनासो बढिरहेको छ।
उपत्यकाभित्रका नगर तथा गाउँ क्षेत्रमा खानेपानी तथा ढल निकास सेवालाई नियमित, व्यवस्थित, गुणस्तरयुक्त र सुलभ बनाई सम्पूर्ण बासिन्दालाई भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले २०६२ सालमा स्थापना भएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको भरपर्दो आपूर्ति गर्न सकेको छैन।
बोर्डले आज नवौं वार्षिकोत्सव मनाइरहँदा सरोकारवाला नियकायका प्रमुख तथा जनप्रतिनिधिले बोर्डको आगामी जिम्मेवारी र चुनौतीलाई झस्काइरहेका थिए।
वार्षिकोत्सवको उद्घाटन गर्दै सहरी विकास मन्त्री डा. नारायण खड्काले पानी जीवन भएको र यो राष्ट्रिय प्रतिष्ठासँग पनि जोडिएकाले पानी राजनीतिक, आर्थिक हिसावले चुनौतीपूर्ण बनिरहेको बताउनुभयो।
“अहिले ४० करोड लिटर माग छ, तर १० देखि १२ करोड मात्र वितरण भइरहेको छ, यसलाई कसरी धान्ने?
अहिलेको सबैभन्दा ठूलो चुनौती माग र आपूर्तिलाई सन्तुलन गर्दै बोर्डले कहाँ पानी पुगेको छ, छैन, चुहावट कति छ त्यसलाई तत्कालै सुधार गर्ने कार्य थाल्नुपर्छ”–उहाँले भन्नुभयो।
सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले केयुकेलले मेलम्चीबाट पानी नआउन्जेल भूमिगत जलस्रोतको उचित व्यवस्थापन गर्न तथा तिनको प्रभावकारी नियमन र अनुगमन गर्न जरुरी भएको बताउनुभयो।
उहाँले उपत्यकाको खानेपानी समस्या समाधानका लागि खानेपानीका साना स्रोत आयोजना पनि अघि बढाइएको जानकारी दिनुभयो।
सभासद् भीमसेनदास प्रधानले उपत्यकाको खानेपानी वितरण समानुपातिक र न्यायोचित हुन नसकेको जनगुनासो बढिरहेको भन्दै चुहावट नियन्त्रण तथा पानीका वैकल्पिक स्रोतहरुको खोजी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो।
अर्का सभासद् मदनबहादुर अमात्यले मेलम्ची खानेपानी आयोजनाले मात्र उपत्यकाको खानेपानी समस्या समाधान नहुने भएकाले अन्य आयोजनालाई पनि अघि बढाइनुपर्ने भन्दै पानीको चुहावट नियन्त्रण गरी संस्थानका कर्मचारीलाई अनुशासित बनाइ न्यायोचित वितरण गरिनुपर्ने खाँचो औंल्याउनुभो।
सभासद् गगन थापाले जनप्रतिनिध तथा अन्य सरोकारवाला निकायसँग समन्वय नहुँदा उपत्यकाको खानेपानी समस्या चुलिएको भन्दै अवैध ढङ्गले सञ्चालन भइरहेका भूमिगत पानीका स्रोतको नियमन गर्न जरुरी भएको बताउनुभयो।
कार्यक्रममा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नारायणप्रसाद रेग्मीले बागमतीको सभ्यता जोगाउन र प्रदूषणमुक्त बनाउन सबैको सहकार्य हुनुपर्दछ भन्नुभयो।
काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त योगेश्वर पराजुलीले काठमाडौंको व्यवस्थित सहरीकरणका लागि २० वर्षे दीर्घकालीन योजना तयार गर्ने क्रममा रहेको जानकारी दिनुभयो।
मेलम्ची खानेपानी विकास समितिका प्रमुख कृष्णप्रसाद आचार्यले सन् २०१६ मा काठमाडौंमा मेलम्चीको पानी ल्याउने गरी अहिले मुख्य संरचना पानी प्रशोधन केन्द्र र सुरुङ निर्माणको कार्य भइरहेको बताउनुभयो।
आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तेजराज भट्टले उपत्यकाका खानेपानी व्यवस्थानका पुराना पूर्वाधारलाई आधुनिकीकरण गर्दै वितरण प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउन लागिएको उल्लेख गर्नुभयो।
नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेशकुमार अग्रवाल, केयुकेलका महाप्रबन्धक चन्द्रलाल नकर्मीले बढ्दो जनसङ्ख्या, पानीका स्रोतको कमी तथा आर्थिक अभावका कारणले उपत्यकाको खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो।
बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाले काठमाडौा उपत्यकाको खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि बोर्डले काम गर्दै आएको बताउनुभयो।
|