भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सम्पन्न
#readmoe#भक्तपुर, ५ बैशाख। भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न भएको छ।
नव वर्षको आगमनसँगै सुरू भएको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्रा आठ रात–नौ दिनसम्म धुमधामका साथ मनाइएको थियो।भैरवनाथ र भद्रकालीको रथ तानेर सुरू भएको बिस्केट जात्रा शुक्रबार अन्तिम दिन पनि रथ तानेर सम्पन्न भएको थियो।
रथ दत्तात्रयमा ढुङ्गाको स्तम्भमा ठोकिएर स्तम्भमा रहेको सिंहको मूर्तिसमेत खसेको थियो। खसेको सिंह तीन टुक्रा भएको थियो। तर पनि कुनै मानवीय क्षति भएको छैन। बेलुका अबेलासम्म पनि भैरवको रथ टौमढी पुर्याइएको छैन। त्यस्तै घरहरुमा पनि केही क्षति भएको छ।
विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट ल्याएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी रथमा विराजमान गराइसकेपछि स्थानीय गःहिटीबाट रथ तान्ने परम्परा छ।
यसैबीच बिस्केट जात्राको अन्तिम दिन शुक्रबार बिहान स्थानीय तालाक्व टोलमा हात नभएको लिङ्गो ढाल्ने जात्रा पनि सम्पन्न भयो।
प्रत्येक वर्ष चैत मसान्त अर्थात् चैत ३० गतेका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी उभ्याइने उक्त लिङ्गो शुक्रबार बिहान विधिपूर्वक पुजा गरी शुक्रबार ढालिएको हो।
बिहानपख नजिकैको गणेश मन्दिर र लिङ्गोमा विधिपूर्वक पूजाअर्चाना गरी तीनवटा डोरीले तीन कुनाबाट तान्नेर लिङ्गो ढालिएको थियो। बिस्केटको लिङ्गो जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेको जानकारी दिँदै इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरेको बताउनुभयो। तात्कालीन भक्तपुरका मल्लले राजा विश्व मल्ले सञ्चालन गरेको सगुण पुजा गरी भक्तपुरवासीले देवतालाई समेत भोज खुवाई यो जात्रा सम्पन्न गर्ने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो।
बिस्केट जात्राकै क्रममा भक्तपुरका सबैजसो देवदेवीहरूलाई आफ्नो देवगृहबाट बाहिर निकाली जात्रा चलाई द्योछें घरको चोक, प्राङ्गण, पौवा, पाटी, सत्तल आदि स्थानमा विराजमान गराई देवदेवीहरूको सगुण पुजा गर्ने र आफ्नो गच्छेअनुसारको खाद्य सामग्री जाँड–रक्सी चढाउने प्रचलन रहिआएको छ। यो प्रक्रिया पूरा नगरिकन जात्रा सम्पन्न भएको मानिंदैन।
|