September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

पाँच क्युवालीको रिहाइ माग गर्दै संरा अमेरिकी दूतावासअघि प्रदर्शन

संरा अमेरिकी राष्ट्रपतिलाई बुझाइएको विरोध पत्र 

श्री बाराक ओबामाज्यू, 

राष्ट्रपति, संयुक्त राज्य अमेरिका 

ह्वाइट हाउस 

१६०० पेन्साल्भानिया एभेन्यु एन डब्ल्यू, 

वाशिङ्टन डीसी २०५००।  

राष्ट्रपति महोदय, 

संयुक्त राज्य अमेरिकी सरकारले झण्डै सोर्‍ह वर्षदेखि पाँच जना आतङ्कवादविरोधी क्युवाली योद्धाहरूलाई अन्यायपूर्वक बन्दी बनाएको कुरा संसारले स्वीकारिसकेको सत्य हो। आज सारा विश्वलाई थाहा छ, ती योद्धाहरूलाई बन्दी बनाइनु अवैधानिक, अमानवीय र कूटनीतिक मान्यताविपरीत छ। संरा अमेरिकाको मियामीबाट हुने गरेका आतङ्कवादी हमलाबाट आफ्नो देशको रक्षा गर्दै गरेका ती वीरहरूलाई अमानवीय जेल सजाय दिने कुनै कानुनी आधार छैन।  

सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत गैरकानुनी गिरफ्तारी बारेको अध्ययन कार्यदलले पनि पाँच क्युवालीहरूको गिरफ्तारीलाई अवैधानिक भनी निश्चय गरेको थियो। पाँच क्युवालीहरूमाथिका यस्ता व्यवहारले संरा अमेरिकाले बखान गर्दैआएका 'विश्वव्यापी मानवअधिकार' को खिल्ली उडाएको छ। क्युवाली योद्धाहरूले कुनै हात–हतियारको प्रयोग नगरी आतङ्कवादी हमलाबाट आफ्नो देश र देशवासीको रक्षा गरेर निःसन्देह साहसिक कार्य गरेका थिए, तसर्थ उनीहरूका कामलाई 'आतङ्कवाद' वा 'अपराध' भनी परिभाषित गर्न मिल्दैन। पाँच क्युवालीहरूको कानुनी पुर्पक्षका क्रममा मियामीका अधिकारसम्पन्न निकायहरू र सञ्चारमाध्यमहरूले गरेका खेदजनक क्रियाकलापले यो मुद्दाको पछाडि घृणित राजनीतिक दुराशय लुकेको प्रस्ट पारेको छ। 

आज संरा अमेरिकादेखि एसियासम्म, ल्याटिन अमेरिकादेखि अफ्रिका र युरोपलगायत सारा विश्व क्युवाली योद्धाहरूको तत्काल निःशर्त रिहाइको माग गर्दै ऐक्यबद्धतामा एकजुट भई उठेका छन्। पाँच योद्धाहरूमध्ये रेने गोन्जालेज र फर्नान्डो गोन्जालेजको रिहाइ भइसकेको छ तर उनीहरू पाँचै जनाको रिहाइको एकीकृत भावना बाँकी तीन जनालाई नछोडेसम्म संसारभर निरन्तर गुञ्जिरहनेछ। गेरार्डाे हर्नान्डेज, रामोन लाबानिनो र एन्टोनिओ ग्युयरेरो अझै पनि संरा अमेरिकी कारागारमा कैदी जीवन बिताइरहेका छन्। संरा अमेरिकाले ती योद्धाहरूलाई मात्र दुःख दिएको होइन, उनीहरूका परिवारजन र आफन्तहरूलाई उनीहरूसँग जेलमा भेट्न जान अनुमति दिएन, संरा अमेरिकी सरकारले विना कुनै कारण कैद गरिएका योद्धाका परिवार र आफन्तजनलाई राहदानी दिन पनि अस्वीकार गरिरहेको छ। 

पाँच क्युवाली र क्युवाली क्रान्तिप्रतिको ऐक्यबद्धता मञ्चको रुपमा क्रियाशील, क्युवा ऐक्यबद्धता समिति नेपाल सबै पाँच क्युवाली योद्धाहरूको विनाशर्त रिहाइको मागलाई दृढतापूर्वक पुनः जोड दिन्छ। उनीहरूलाई जति लामो समय बन्दी बनाइन्छ, संरा अमेरिकाका मानव अधिकार हनन् एवम् साम्राज्यवादी क्रियाकलापविरूद्ध विश्वव्यापी रूपमा त्यति नै भर्त्सना र प्रतिरोध बढ्दै जानेछ।  

तसर्थ 'पाँच क्युवालीको लागि पाँच दिन'को यो महान् अवसरमा नेपालका हामी न्यायप्रेमी जनता आतङ्कवादविरोधी देशभक्त पाँच क्युवाली योद्धाहरूको रिहाइमा पुनः जोड दिन्छौं। साथै हामी यही बेला सन् १९६० देखि संरा अमेरिकाको नृशंस नाकाबन्दीविरूद्ध 'समाजवाद वा मृत्यु' को भावनाका साथ निरन्तर लडिरहेका क्रान्तिकारी क्युवाली जनता र न्यायपूर्ण मुद्दाका लागि लडिरहेका संसारभरका जनताप्रति हाम्रो मैत्रीपूर्ण न्यानो ऐक्यबद्धता व्यक्त गर्दर्छाैं।  

पाँच क्युवाली योद्धाहरूलाई तत्काल रिहा गर ! 

अन्याय बन्द गर ! 

संरा अमेरिकी साम्राज्यवाद – मुर्दावाद ! 

क्रुर नाकाबन्दी – अन्त्य गर ! 

काठमाडौं, २३ जेठ। संरा अमेरिकाले अन्यायपूर्वक बन्दी बनाएका आतङ्कवादविरोधी पाँच क्युवाली योद्धाहरूको अविलम्ब विनाशर्त रिहाइको माग गर्दै शुक्रबार क्युवा ऐक्यबद्धता समिति नेपालले काठमाडौंस्थित संरा अमेरिकी राजदूतावासमार्फत संरा अमेरिकी राष्ट्रपति बाराक ओवामालाई विरोधपत्र बुझाएको छ। 

कडा सुरक्षा व्यवस्था र व्यापक प्रहरी परिचालनबीच दिउँसो १ः२० बजे महाराजगञ्जबाट निकालिएको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दोहोरो तानातान र लुछाचुँडी भएको थियो। प्रहरीले राजदूतावासबाट निकै वर जुलुस रोक्न खोज्दा प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। प्रदर्शनकारीहरू राजदूतावासको नजिक धर्ना बसेका थिए।  

प्रहरीले जुलुसमा सहभागी बन्न निःशस्त्र जम्मा भएका व्यक्तिहरूलाई रोकेर सोधपुछ र छेक्ने गरेका थिए। जुलुसका व्यानर र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूलाई प्रहरीले बाटो हिड्न पनि अवरोध गरेका थिए। प्रदर्शनमा सहभागी नभएका सर्वसाधारणको आवागमनमा समेत प्रहरीले दखल पुर्‍याएका थिए।  

नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्ले, सभासद् अनुराधा थापामगर, क्युवा ऐक्यबद्धता समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईसहितको टोलीले संरा अमेरिकी राजदूतावासका प्रतिनिधिलाई विरोधपत्र बुझाएको थियो। (विरोधपत्रको पूर्ण पाठ बक्समा प्रस्तुत छ। ) 

विरोधपत्र बुझाउने क्रममा तस्वीर खिचेको बहानामा जुलुसमा सहभागी निर्मल प्रजापतिलाई केही समय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए।  

सो क्रममा आयोजित धर्नामा बोल्दै क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष सुरेन्द्रराज गोसाईले संरा अमेरिकी साम्राज्यवाद हतियारभन्दा संसारका न्यायप्रेमी जनताको आवाज र मुठ्ठीबाट त्रसित रहेको बताउनुभयो। उहाँले पाँचै जना क्युवाली योद्धाहरूको रिहाइ संसारका साम्राज्यवादविरोधी जनताको एउटै भावना भएको बताउनुभयो।  

ऐक्यबद्धता समितिका उपाध्यक्ष एवं नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले पाँच क्युवाली योद्धाहरूको अन्यायपूर्ण कैदले संरा अमेरिकी प्रजातन्त्र  झूटमात्र भएको प्रमाणित गरेको छ भन्नुभयो।  

ऐक्यबद्धता समितिका सदस्य एवं नेक्रायुसङ्घका सचिव प्रकाशले झूटा अभियोगमा राजनीतिक पूर्वाग्रहका आधारमा अन्यायपूर्वक सजाय गरिएको प्रस्ट पार्नुभयो।  

सभा ऐक्यबद्धता समितिका सचिव नीरज लवजूले पाँच क्युवालीहरूप्रतिको ऐक्यबद्धता विश्वव्यापी बन्दै गएको र नेपालका न्यायप्रेमी जनता पनि ती योद्धाहरूको पक्षमा रहेको बताउनुभयो।  

धर्नामा प्रदर्शनकारीहरूले 'पाँच क्युवालीहरूलाई तत्काल रिहा गर', 'संरा अमेरिकी साम्राज्यवाद मुर्दावाद', 'अन्याय बन्द गर', 'समाजवादी क्युवामाथिको नाकाबन्दी तत्काल अन्त्य गर' आदि नारा लगाएका थिए।  

पाँच क्युवाली योद्धाहरूको रिहाइ माग गर्दै सन् २०१२ देखि हुँदै आएको 'पाँच क्युवालीहरूका लागि पाँच दिन' अभियानअन्तर्गत नेपालमा सो कार्यक्रम अयोजना गरिएको हो।  

अभियानअन्तर्गत संरा अमेरिकाको वाशिङ्टन डीसीलगायत ४० भन्दा बढी देशहरूमा विभिन्न गतिविधि गरिएको क्युवाली समाचार संस्था रेडियो हवानाले जनाएको छ।