यार्सा सिजनको सुरुवातसँगै आपराधिक गतिविधि बढ्दै
डोल्पा, २४ जेठ। यार्सा सिजनको सुरुवातसँगै डोल्पामा आपराधिक क्रियाकलाप बढ्दै गएका छन्।
सुरक्षा निकायले जिल्ल्ााको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेको बताए पनि वैशाखको सुरुवातसँगै अहिलेसम्म पटकपटक गरेर पाँच वटा बेवारिसे मृत्यु, काइगँउ गाविसको हुरीकोटमा दुईवटा स्थानीयको घर दिनदाहाडै लुटपाट, माझफाल गाविसको बागडाँडाबाट हतियारसहित पक्राउ, सोही ठाउँमा ठूलो परिमाणमा पैसा लुटपात, बेवारिसे शव फेला, सहरता गाविसको गुम्बातारामा ४० थान बुद्धका मूर्ति चोरीलगायतका घटना घटिसकेका छन्।
गत वर्ष माथिल्लो डोल्पाको सुनदहमा २४ जना व्यापारी तिब्बतबाट यार्साको व्यापार गरेर फर्किने क्रममा बेलुकी ६ बजे नै रु. ६ करोड पैसासहित सात तोला सुन हतियारधारी समूहले लुटेको अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। घटनाको विषयमा अनुसन्धान मात्र भइरहेको बताइरहने प्रहरी प्रशासन कुनै पनि घटनामा संल्ाग्न अपराधीलाई समातेर कारबाही चलाउन सकेको छैन।
प्रहरी प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण हतियारधारी समूह ठूलै मात्रामा भित्रिएको स्थानीयवासी बताउँछन्। यस समयमा यार्सा सङ्कलनको ठूलो परिमाणमा पैसा लिएर पाटन पुग्ने आन्तरिक तथा बाह्य यार्सा व्यापारी पनि चोरको बिगबिगीका कारण रातारात सुरक्षित स्थानतिर फर्किरहेको स्थानीयवासी टीकादत्त न्यौपानेले बताउनुभयो।
यस्ता घटनालाई मध्यनजर गरेर डोल्पाका काईगँउ, फोक्सुन्डो, सुनदहलगायतका चारवटा संवेदनशील नाकामा सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
|