खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही हुने
काभ्रे, २४ जेठ। निर्वाचन आयोगका आयुक्त डा.अयोधीप्रसाद यादवले खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही हुने बताउनुभएको छ।
धुलिखेलमा शनिबार आयोजित निर्वाचन विवाद निरूपण तथा निर्वाचन कानुनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले खर्चको विवरण नबुझाउने उम्मेदवारका विरूद्ध आयोग चुप लागेर बस्दैन भन्नुभयो।
निर्वाचन आयुक्त यादवले अहिलेसम्म ४७ प्रतिशत उम्मेदवारले मात्रै खर्चको विवरण बुझाएको जानकारी दिंदै निर्वाचनमा जितेका कतिपय सभासद्ले पनि खर्चको विवरण नबुझाउनु दुःखद भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
हामीले कानुनको पालना भएको छ वा छैन भनेर हेर्ने हो, दलहरूले कानुनको पालन गरेको भए राम्रो हुन्थ्यो आयुक्त यादवको भनाइ थियो।
निर्वाचन आयोगका सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले ब्यालेट युनिटमा धेरै दललाई समेट्न नसकेका कारण विगतको निर्वाचनमा विद्युतीय उपकरण प्रयोग नभएको उल्लेख गर्दै अहिलेको उपनिर्वाचनमा चारै क्षेत्रमा मतदानका लागि विद्युतीय उपकरण प्रयोगमा आउने बताउनुभयो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले लोकतन्त्रमा ब्यालेटबाट जनमतको छिनोफानो हुने उल्लेख गर्दै उपनिर्वाचन गराउने झञ्झटिलो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
राजनीतिक दल, गैरसरकारी संस्थाका प्रमुखलगायतको सहभागिता रहेको सो कार्यक्रममा निर्वाचनको कानुनी अवस्था, आचारसंहिता र त्यसले समुदायमा पारेको प्रभावका बारेमा उठेका प्रश्नको आयोगका सहन्यायाधिवक्ता ज्ञवाली र निर्वाचन आयुक्त यादवले जवाफ दिनुभएको थियो।
|