September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

दुर्गन्ध फैलाउने 'भुत्ला' फ्याक्ट्री बन्द गर्न माग

– हरिसुन्दर छुकां 

भक्तपुर, २५ जेठ। उद्योगले फैलाएको प्रदूषणले स्वास्थ्यमा गम्भीर असर परेको भन्दै ताथलीवासीले उक्त उद्योेग बन्द गराउन माग गरेका छन्। 

ताथली गाविस वडा नं. ४ को सुइटी खोलासँगै स्थानीय यज्ञविक्रम थापाले सञ्चालन गरेको उग्रचण्डी फिड इण्डष्ट्रिजले कुखुराको भुत्ला, सुली र आन्द्रा पेल्दा हुने दुर्गन्धले स्थानीयको स्वास्थ्यमा असर गरेको भन्दै सो उद्योग तत्काल बन्द गर्ने माग गर्दै आइतबार स्थानीयको एक टोलीले ताथली गाविस सचिवको ध्यानाकर्षण गरेको थियो। टोलीमा कुखुरा व्यवसायी, किसान, विद्यार्थी, शिक्षक, महिला, युवालगायतका सर्वसाधारणको सहभागिता  

थियो। 

      उक्त उद्योगले ताथली गाविसका वडा नं. २, ३ र ४, ५ र ६ का स्थानीयमात्र नभई गाविस कार्यालय र गणेश माध्यमिक विद्यालयलाई पनि असर पुर्‍याएको स्थानीय पुस्कर खत्रीले बताए। उनले सोही उद्योगका कारण आफू राती सुत्न नसकको र खाना खानसमेत नसकेको बताए। 

'स्कूलबाट जम्माजम्मी ९०/९५ मिटरको फरकमा रहेको उद्योग चलाउँदा कक्षा लिनै नहुने गरी गन्हाउँछ। त्यहाँबाट आउने गन्धले विद्यार्थी र शिक्षक–शिक्षिकाहरूलाई वाकवाकी लाग्ने, विद्यार्थीले बान्ता गर्ने गरेका छन्। ' विद्यालयका प्रधानाध्यापक हरिबहादुर थापाले भने। उनले सो बारेमा उद्योग सञ्चालकलाई जानकारी गराउँदा पनि बेवास्ता गरेपछि त्यसलाई रोक्न गाविसको सहयोग खोजेको बताए।  

    गएको वर्ष बर्ड फ्लू फैलिंदा बन्द भएको उक्त उद्योग फेरि चलाउन थालेपछि स्थानीयहरू आक्रोशित भएका हुन्। उनीहरूले सञ्चालकले उद्योग रातीराती चलाएको बताए। सोही कारण वरपरको मात्र नभई गाविसका विभिन्न क्षेत्रमा वायु प्रदूषण र ध्वनी प्रदूषण भएपछि स्थानीयको एक टोली गाविसमा पुगेको थियो। 'हामीले उद्योग नचलाउनका लागि अनुरोध गर्दा उल्टै हामीलाई धम्क्याएर पठाए, तिमीहरूले के गर्नसक्छौ गर भने।' गाविसमा गुनासो गर्न आएका स्थानीय कुमार खत्रीले भने। यसैगरी ताथली वडा नं. ३ का मीनबहादुर थापाले सो उद्योगबाट निस्किएको धुँवाधूलोले गर्दा आफूले लगाएको तरकारी बालीमा पनि असर परेको बताए। 

    गाविस सचिव शालिग्राम पौडेलले उद्योगबारे यर्थाथ बुझेर प्रदूषण न्यूनीकरण गर्न उद्योग सञ्चालकलाई अनुरोध गर्ने बताए। उनले गाविसले गरेको अनुरोधलाई लत्याए आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, घरेलु र तथा राजस्व कार्यालयको सहयोग माग्ने बताए। 

गाविसका विभिन्न राजनीतिक दलहरूले पनि जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने उद्योग तत्काल खारेज गर्नुपर्ने बताएका छन्। गाविस स्रोतका अनुसार उद्योग सञ्चालक थापाले कुखुराको दाना उत्पादनका लागि कच्चा पदार्थ बनाउने उद्योग भनेर सिफारिस लिए पनि सिफारिसअनुसार काम गरेको छैन। पहिला सिफारिस लिने बेलामा खासै केही प्रदूषण हुँदैन भनेर लिएर अहिले सबैलाई झुक्याएको गाविस स्रोतको भनाइ छ। 

स्थानीयका अनुसार दाना बनाउने भनेर फ्याक्ट्रीले कुकुरलाई खुवाउने बिस्कुट बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका कोल्ड स्टोरबाट कुखुराको भुत्ला, सुली र आन्द्रा ल्याएर पेल्ने गर्दै आएको कारण त्यहाँ दुर्गन्ध फैलिएको छ। यता उद्योग सञ्चालक थापाले भने स्थानीयले गलत आरोप लगाएको भन्दै उद्योगले सिफारिस पाएअनुसार नै काम गरेको बताए। उनले उद्योगले फैलाउने प्रदूषणलाई न्यूनीकरण गर्ने तरिका अपनाएको र स्थानीयको स्वास्थ्यलाई कुनै असर नपुग्ने तवरबाट उद्योग सञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गर्न खोजेको पनि बताए।  

उद्योगले कोहीलाई असर नपुर्‍याओस् भनेर आफूले राती उद्योग चलाएको बताउँदै सञ्चालक थापाले केही स्थानीयले व्यक्तिगत रिसइबीका कारण उद्योग बन्दको माग गरेको पनि बताए। सञ्चालक थापाले आफूमाथि लगाइएको सत्य नभएको र उद्योगका कारण मानवीय स्वास्थ्यमा असर पुर्‍याउने ध्येयले उद्योग सञ्चालन नगरेको बताए।