सामूहिक बचतद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर, २६ जेठ। सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को संस्था विकास तथा प्रवर्द्धन उपसमिति र ऋण उपसमितिको सक्रियतामा शनिबार अन्तरक्रिया कार्यक्रम भयो।
अध्यक्ष राजेश किजूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष किजूले संस्थाले सदस्यहरुको सुविधाको लागि ऋणका विभिन्न नयाँ शीर्षकहरुबारे प्रस्ट गर्दै होमलोनको विशेषताबारे जोड दिनुभयो।
संस्था विकास तथा प्रवर्द्धन उपसमितिका सञ्जय जोन्छेंले अन्तरक्रिया कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकारहरु, संस्थापक सदस्यहरु तथा शुभचिन्तक सदस्यहरुको सल्लाह सुझावबाट संस्थालाई अगाडि हाँक्न सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष कृष्णप्रसाद दुवालले स्वागत गर्दै संस्थाको लक्ष्य तथा ऋण तथा बचतबारे जानकारी दिनुभयो।
प्रबन्धक राधेश्याम दुवालले संस्थाले प्रदान गर्ने बचत तथा ऋणको व्याज र शेयर सम्बन्धमा जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष माधव ध्वजू, लेखा समितिका संयोजक राजेशबहादुर श्रेष्ठ, कोषाध्यक्ष अशोकरत्न शाक्य, ऋण उपसमितिका संयोजक कृष्णमान दिवाकर, महिला उपसमितिका संयोजक शान्ता याँचालगायत संस्थापक सदस्यहरुले आ–आफ्नो विचारहरु व्यक्त गर्नुभएको थियो।
|