अनुगमनमा भेटिए म्याद नाघेका खाद्य र पेय
भक्तपुर, २६ जेठ। छ लेन सडकसँगै जोडिएको सूर्यविनायकका अधिकांश किराना पसलहरुले म्याद नाघेको वस्तु बिक्री गर्ने गरेको छ।
मानिसको बढी चहलपहल हुने सूर्यविानयक चोकदेखि गणेश मन्दिर जाने सडक वरपरका अधिकांश किराना पसलेहरुले बिक्रीका लागि राखिएका विभिन्न खाद्यान्न तथा पेय पदार्थको म्याद गुजि्रएको पाइएको हो।
वाणिज्य विभागअन्तर्गतको संयुक्त बजार अनुगमन समिति भक्तपुरले सोमबार सूर्यविनायक र कमलविनायकमा गरेको बजार अनुगमन तथा निरीक्षणमा त्यस्तो पाइएको समितिले जनाएको छ।
समितिका संयोजक एवं बजार संरक्षण अधिकृत रेजिना कोइरालाले अनुगमनका क्रममा किराना पसलेहरुले उपभोक्ता ऐनविपरीत विभिन्न खाद्यान्न तथा पेय पदार्थ बिक्रीका लागि राखिएको बताउनुभयो।
'हामीले सूर्यविनायकको ९ वटा किराना पसलहरुमा अनुगमन गर्दा ६ वटा किराना पसलहरुमा त म्याद नाघेका वस्तु बेचेको पायौं', उहाँले भन्नुभयो, 'ती पसलहरुमा पाइएका खाद्यान्नहरु खान नमिल्ने भइसकेका थिए, खान नमिल्ने भएका थिए।'
उहाँका अनुसार अनुगमनका क्रममा पसलहरुले विभिन्न ब्राण्डका बिस्कुट, चकलेट, पाउरोटी, मसला, चियापत्ती, दालमोठ, चामल, जुसलगायतका वस्तुको म्याद गुजि्रएको फेला परेको थियो।
त्यसरी म्याद गुजि्रएका वस्तु बेच्नेमा सूर्यविनायकको न्यू प्रिन्सा स्टोर, प्रजापति किराना पसल, सेवा ट्रेडर्स, नयन फ्रूट जुस सेन्टर, न्यू प्रोभिजन स्टोर र विष्णु कोल्ड स्टोरलगायतका छन्।
उहाँले ती पसलेहरुमध्ये प्रजापति किराना स्टोरले लेवल नै नभएको मसला, सेवा ट्रेडर्सले म्याद नाघेको माज्दा जुस, एलाभेरा जुस र विष्णु कोल्ड स्टोरले पनि म्याद नाघेको कर्मफ्लेक्स बेचेपछि ती सामानहरु नष्ट गरिएको जानकारी दिनुभयो।
उहाँले उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने वस्तु नबेच्न निर्देशन दिएको बताउँदै त्यसलाई अटेर गरे उपभोक्ता ऐनअनुसार कारबाही गरिने चेतावनी दिइएको पनि जानकारी दिनुभयो।
वाणिज्य विभाग, प्रशासन कार्यालय, नगरपालिका, घरेलु कार्यालय, जिविस र प्रहरी कार्यालयका प्रतिनिधि संलग्न उक्त टोलीले सूर्यविनायकका ९ र कमलविनायकका ४ गरी १३ किराना पसलहरुमा अनुगमन गरेको थियो।
अनुगमनमा सहभागीहरुमध्ये अधिकांशले अनुगमन फितलो भएको प्रतिक्रिया दिनुभएको छ। अनुगमनका क्रममा त्यस्तो त्रुटी देखिँदा पनि खासै कुनै कारबाही गरिएन, उल्टै देखावटी रुपमा केही सामान नष्ट गर्न लगाएर धेरै सामान लुकाउन लगाए।' एक सहभागीले भन्नुभयो।
यही विषयमा बजार संरक्षण अधिकृत कोइरालाले भने नियमित बजार अनुगमनको सुरुवात भएकोले तत्कालै कडा कारबाहीभन्दा पनि सम्झाउने काम भएको प्रतिक्रिया दिनुभयो।
|