नगर घोषणाअघि पूर्वाधार तयार गर्नु आवश्यक
भक्तपुर, २६ जेठ। काठमाडौं उपत्यकाका तीनै जिल्लामा थप नगर क्षेत्र घोषणाका सम्बन्धमा छलफलले व्यापकता लिँदैछ। राजनीतिक दल, बुद्धिजीवी, सामाजिक कार्यकर्ता एवं नागरिक समाजबीच सो विषयमा पक्ष–विपक्ष र आउनसक्ने समस्याबारे छलफलले गति लिइरहेको छ। यसै सन्दर्भमा जिल्ला विकास समिति, भक्तपुरले सम्बन्धित व्यक्ति, पदाधिकारी एवं संघ–संस्थासँग सुझाव सङ्कलनलाई अगाडि बढाएको छ।
नेपाल मजदुर किसान पार्टीका सभासद्द्वय प्रेम सुवाल र अनुराधा थापामगरले मापदण्ड पुगेका गाउँबस्तीहरुलाई नगरक्षेत्र सिफारिस गर्ने एवं पुराना नगरपालिकामा पायक पर्ने छिमेकी गाविसहरु गाभी नगरपालिका बनाउन सिफारिस गरी पठाउने विषयक २०७१ जेठ २६ गते सोमबार भएको छलफल र सुझाव सङ्कलनमा देहायका सुझाव पेश गर्नुभएको छः
१) सबै गाविसमा स्थानीय जनता, बुद्धिजीवी, मजदुर, किसान, युवा, विद्यार्थी, महिला आदिको बीचमा स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ तथा नगरसँग सम्बन्धित अन्य ऐनबारे जानकारी दिन व्यापक छलफल गर्नु आवश्यक छ। नयाँ नगरपालिकाको वडा र क्षेत्रफलबारे पनि जानकारी दिन छलफल राख्नु आवश्यक छ। त्यसपछि नगरपालिकाको आवश्यक भौतिक पूर्वाधार तयार गर्नु आवश्यक छ। यसअघि विनाभौतिक पूर्वाधार नगरपालिका घोषणा गर्ने काम हुँदै आयो। अब त्यस्तो गल्ती कमजोरी दोहोर्याउनु हुँदैन।
भौतिक पूर्वाधारहरु (घर–घरबाटै कुहिने नकुहिने फोहरमैला सङ्कलन र त्यसको थान्को लगाउने ठाउँ, फोहर ढल उपचार गर्ने उपचार पोखरी, खानेपानीको व्यवस्थापन, बसपार्क, मनोरञ्जन पार्क, सभाभवन, भू–उपयोग योजना, भौतिक संरचना निर्माणसम्बन्धी मापदण्ड कडाइसाथ कार्यान्वयन, बजार व्यवस्थापन, आफ्नै एक उच्च मावि सञ्चालन आदि) तयार गरीमात्र नयाँ नगरपालिका घोषणा गर्नुपर्ने।
२) स्थानीय जनताहरुबाट प्राप्त सुझावअनुसार, गाविसहरुलाई पुराना नगरपालिकाहरुमा गाभ्ने वा नयाँ नगरपालिका बनाउनुपर्ने।
३) स्थानीय जनताबाट प्राप्त सुझावअनुसार बालकोट, दधिकोट, सिरुटार र गुण्डु गाविस गाभेर एउटा नयाँ नगरपालिका बनाउनुपर्ने।
४) स्थानीय जनताको सुझावअनुसार दुवाकोट गाविस वडा नं. ७, ८ र ९ लाई पुरानो नगरपालिका मध्यपुर थिमि नगरपालिकामा गाभ्नुपर्ने।
५) स्थानीय जनताको सुझावअनुसार कटुञ्जे गाविसलाई मात्र एउटा नयाँ नगरपालिका बनाउनुपर्ने।
६) स्थानीय जनताको सुझावअनुसार झौखेल गाविसको वडा नं. ५, ६, ७, ८ र ९ लाई पुरानो नगरपालिका भक्तपुर नगरपालिकामा गाभ्नुपर्ने।
७) स्थानीय जनताको सुझावअनुसार ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविसलाई पुरानो नगरपालिका भक्तपुर नगरपालिकामा गाभ्नुपर्ने।
८) स्थानीय जनताको सुझावअनुसार छालिङ्ग, चाँगु, झौखेल वडा नं. १, २, ३ तथा ४ र दुवाकोट गाविसको वडा नं. १, २, ३, ४, ५ र ६ गाभेर एउटा नयाँ नगरपालिका बनाउनुपर्ने।
९) स्थानीय जनताको सुझावअनुसार नंखेल गाविसलाई पुरानो नगरपालिका भक्तपुर नगरपालिकामा गाभ्नुपर्ने वा सिपाडोल, नंखेल र चित्तपोल गाविस गाभेर एउटा नयाँ नगरपालिका बनाउनुपर्ने। |