मृगौला रोगीद्वारा अनसन सुरू
काठमाडौं, २७ जेठ। सम्पूर्ण मृगौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिइनुपर्ने माग गर्दै मृगौला रोगीहरूले मङ्गलबारदेखि रिले अनसन सुरू गरेका छन्।
प्रधानमन्त्री, सभामुख, विभिन्न पार्टी नेता तथा सरोकारवाला सङ्घसंस्थामा पटक –पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै चक्काजाम, धर्नालगायत सङ्घर्षका कार्यक्रम गर्दै आएका पीडितले रत्नपार्कस्थित शान्तिबाटिकामा आजदेखि रिले अनसन सुुरू गरेका हुन्।
राष्ट्रिय मृगौला पीडित सङ्घ नेपालको अगुवाइमा सुरू गरिएको अनसनमा मृगौला पीडित चिन्तामणि पोखरेल, लोकेन्द्रबहादुर शर्मा, मदनविक्रम शाह, सावित्री ताम्राकार, सुमित्रा बोहोरा, मेनुका श्रेष्ठ, पूर्णबहादुर ताम्राकार, उद्धव शर्मा, गुणराज राईलगायत करिब २० जना हुनुहुन्छ।
मृगौला पीडितले आर्थिक अवस्था अत्यन्त कमजोर भएका मृगौला रोगीका लागि मिगौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले सरकारले निःशुल्क उपचार गरिदिनुपर्नेलगायतका सात सुत्रीय माग राख्दै आएका छन्।
|