काठमाडौं र कैलालीमा नेमकिपाको प्रचार
काठमाडौं, २७ जेठ। सविधानसभा उपनिर्वाचन क्षेत्र न. २ मा नेमकिपाका उम्मेदवार सनकमान महर्जनलाई अत्यधिक मतले विजयी
गराउन चुनावी प्रचारप्रसार जारी छ। मङ्गलबार चुनाव प्रचारको क्रममा कामपा वडा नं ३५ र ९ मा घरदैलो कार्यक्रम भयो। सिनामङ्गल चोकमा भेला भई भीमसेनगोला, बत्तीसपुतली, पुरानो वानेश्वर, गौशाला, रातोपुल, सिफललगायतका स्थानमा पार्टीको अपिल र उम्मेदवारको परिचय पर्चा वितरण र पोस्टर टाँसेको थियो।
प्रचारमा समाजवादउन्मुख सविधानको लागि सङ्घर्षरत नेमकिपालाई मतदान गर्न अपिल गरिएको थियो। सत्ता भागबण्डाको झगडा गरी संविधान नलेख्ने दलहरुको विरोधमा नेमकिपाको मादलमा मत हाल्न अनुरोध गरिएको थियो। यसैगरी दोस्रो संविधानसभाको उपनिर्वाचनमा नेमकिपा कैलालीको पनि चुनावको प्रचारात्मक कार्य सुरु भएको छ। कैलालीको निर्वाचन क्षेत्र ६ का नेमकिपा उम्मेदवार रमेशकुमार रावलको नेतृत्वमा मङ्गलबार हसनपुर क्षेत्र नं. ५ मा अपिल वितरण गर्दै घरदैलो कार्यक्रम भयो।
देश र जनताको सेवामा सङ्घर्षरत नेमकिपालाई मतदान गर्न आग्रह गर्दै गरिएको चुनावी गतिविधिलाई निरन्तरता दिने बताइएको छ।
|