कृषिमा बजेट थप गर्र्न किसानहरूको माग
हरिसुन्दर छुकां
भक्तपुर, २७ जेठ। कृषिप्रधान देश भएर पनि कृषि बजेट ज्यादै न्यून रहेको भन्दै किसानहरूले बजेट थप गर्न माग गरेका छन्।
आर्थिक वर्ष २०७२/७३ को लागि बजेट तयारीको क्रममा रहेको सरकारको ध्यानाकर्षण गरी किसानहरूले कृषिमा बजेट अपुग हुँदा किसानहरू मर्कामा परेको भन्दै बजेट बढाउन माग गरेका हुन्।
राष्ट्रिय कृषक समूह महासङ्घ भक्तपुरले मङ्गलबार भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला पशु सेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयमा ज्ञापन पत्र बुझायो। यसअघि समूहले जिल्लाका किसानहरूको हस्ताक्षरत सङ्कलन गरेको थियो।
समूहले ती संस्थाहरूमार्फत स्थानीय विकास मन्त्रालयले कृषिमा बजेट थप्नुपर्ने माग राखेको टोलीमा सहभागी किसान एवं महासङ्घका केन्द्रीय सदस्य अनिता बस्नेतले बताउनुभयो।
समूहका अध्यक्ष टेकबहादुर लागेजूको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी अर्जुन थापा, वरिष्ठ पशु विकास अधिकृत बलबहादुर चन्द, कृषि अधिकृत नरेशचन्द्र घिमिरेमार्फत ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्रमार्फत बुझाउँदै अध्यक्ष लागेजुले कृषिमा बजेटको अभाव हुँदा कृषिमा समस्या रहेकोले कृषि समस्या समाधान गर्नका लागि बजेट बढाउनुपर्ने अनिवार्य रहेको बताउनुभयो। कृषिमा आइरहेको विभिन्न प्रकारका समस्याका कारण धेरै युवाहरू विदेश पलायन हुन विवस भएको जनाउँदै समूहले कृषिलाई पनि मर्यादित पेशाको रूपमा विकास गर्नुपर्नेमा जोड दिएको अध्यक्ष लागेजुले जानकारी दिनुभयो।
समूहले बुझाएको ज्ञापनपत्रमा कृषियोग्य जमिनको गैरकृषीकरण, भूमि र श्रम सम्बन्धको विच्छेदीकरण, कृषिजन्य वस्तुले उचित मूल्य नपाउनुलगायतका समस्याले कृषि उत्पादनमा वर्षेनि उत्पादनमा कमी आइरहेको उल्लेख छ।
टोलीमा सहभागी समूहका उपाध्यक्ष राजेन्द्र थापाले कृषि समस्या समाधानका लागि अहिलेसम्मको सरकारले खासै वास्ता नगरेको जनाउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो।
सदस्य शिवराम रिजालले किसानहरू समस्या समाधानको लागि विभिन्न प्रकारका समितिहरू गठन गरिएको भए पनि त्यसको प्रभावकारिता नदेखिएकोले सरकारले बनाएको नीति र कार्यक्रम कृषक मैत्री हुनुपर्नेमा जोड दिनुभयो।
टोलीमा सहभागी झौखेलका किसान सानु सुवालले स्थानीय निकायअन्तर्गतको गाविसमा रहेको कृषि, वन तथा वातावरण समितिले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट वास्तविक किसानहरूले सदुपयोग गर्न नपाएकोमा दुखेसो गर्दै बजेट सदुपयोगमा स्थानीय निकायले ध्यान दिनुपर्ने बताउनुभयो।
ज्ञापनपत्र बुझ्दै प्रजिअ ठाकुर, स्थानीय विकास अधिकारी थापा, वरिष्ठ पशु अधिृकत चन्द र कृषि अधिकृत घिमिरले भक्तपुरमा रहेका गाविस र नपालाई किसानहरूको समस्या समाधान गर्न निर्देश दिने आश्वासन दिनुभएको थियो।
|