पर्ती जग्गा र बाटो जोगाउन ध्यानाकर्षण
भक्तपुर, २७ जेठ। ताथली गाविस वडा नं. ४ र ९ को पण्डितको पँधेरोस्थित पर्ती जग्गा र बाटोमा भएको अतिक्रमण रोक्न स्थानीयले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका छन्।
उक्त ठाउँमा रहेको करिब ५/६ रोपनी जग्गा र १८/१९ रोपनीको खोलो मिचेर साँघुरो नालीमा परिणत भएपछि त्यसलाई रोक्न प्रजिअ अनिलकुमार ठाकुरको ध्यानाकर्षण गरेका हुन्।
स्थानीय समाजसेवी तथा शुभचिन्तकहरूको एक टोली सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगी प्रजिअ ठाकुरलाई उक्त ठाउँको वास्तविकताबारे जानकारी दिँदै उक्त स्थानमा बढेको अतिक्रमण तत्काल रोक्नुपर्ने माग गरेका थिए।
टोलीमा सहभागी स्थानीय नारायणभक्त न्हेमाफूकीले ताथली गाविसको वडा नं. ९ र ४ को बीचमा रहेको पर्ती सबैले प्रयोग गर्न पाउनुपर्नेमा केही सीमित व्यक्तिले त्यहाँ अतिक्रमण गर्दा समस्या उत्पन्न भएको जानकारी दिनुभयो। ज्ञापनपत्र बुझाउन पुगेका टोलीमा सहभागी स्थानीय समाजसेवी केशबहादुर खड्काले स्थानीय शान्ति समितिका सदस्य स्वयंबाट पर्ती मिचिनु दुःखद् रहेको बताउनुभयो भने स्थानीय कमला गिरीले सो स्थानमा रहेको बाटो कायम नभएको खण्डमा गाविसभरिका पर्तीमा व्यक्तिको रजाइँ चल्ने खतरा उत्पन्न हुने सम्भावना औंल्याउनुभयो। करिब १ सय ५० जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले पण्डितको पँधेरोदेखि खड्का टोलसम्मको करिब डेढ किमी बाटोले ओगटेको जग्गाको लगत कट्टा गर्नुपर्ने र जबरजस्ती उक्त ठाउँको बाटो सार्न खोजिएको प्रजिअलाई जानकारी दिनुभएको थियो।
टोलीमा सहभागी स्थानीय युवा रमेश न्हेमाफूकीले सो स्थानमा अतिक्रमण बढ्दा खेलमैदान अभाव भएकोमा चिन्ता व्यक्त गर्दै सो स्थान बचाउनुपर्नेमा जोड दिनुभयो।
ज्ञापनपत्र बुझाउने क्रममा सहभागीहरूले उक्त ठाउँमा भएको बाटोको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले मुद्दालाई असर पर्ने गरी भइरहेको गतिविधि रोक्नुपर्नेमा जोड दिनुभएको थियो।
ज्ञापनपत्र बुझ्दै प्रजिअ ठाकुरले उक्त विषयमा गाविससँग समन्वय गरेर यथार्थ बुझ्ने प्रतिक्रिया दिनुभएको थियो।
|