गुठीको जमिन हडप्ने प्रयास
काठमाडौं, २८ जेठ। कश्मिरी वंशज नेपाली मुसलमानको सामूहिक निजी गुठी 'पञ्च कश्मिरी तकिया'को नाममा रहेको जमिन भूमाफियाले आफ्नो नाममा पार्न खोजेको आरोप उक्त गुठीले लगाएका छन्।
मस्जिदद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा ६०० वर्षअघि मल्लकालीन समयमा स्थापना भएको धार्मिक गुठीको नाममा रहेको पुतलीसडकको आठ रोपनी जग्गा र घट्टेकुलोमा रहेको साढे तीन रोपनी जग्गा हडप्न लागेको आरोप लगाइएको हो।
पत्रकार सम्मेलनमा मस्जिद सञ्चालन बोर्डका अध्यक्ष महम्मद नाजिमले सामूहिकरूपमा भोगचलन गरिआएको उक्त जग्गा एक व्यक्तिले आफ्नो नाममा पार्ने मनसायले गैरकानुनी काम गर्दै आएको बताउनुभयो।
मस्जिद सञ्चालन समितिका अध्यक्ष महबुब शाहले उक्त जग्गा अन्य व्यक्तिले आफ्नो नाममा पारे धार्मिक आस्थामा खलल पुग्न गई सामाजिक सहिष्णुतामा आघात पुग्न जानेछ।
उहाँले त्यस्तो कार्यलाई निरूत्साहित गरी उक्त जग्गा गुठीकै नाममा बनाइराख्न सम्बन्धित सबैसँग आग्रह गर्नुभयो।
|