September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

माइक्रोबायोलोजीका विद्यार्थी सङ्घर्षमा

काठमाडौं, जेठ २८। त्रिवि त्रिचन्द्र बहुमुखी क्याम्पसमा माइक्रोबायोलोजी सङ्घर्ष समिति २०७१को आयोजनामा बुधबार एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। 

त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा.डा. सुनिल अधिकारीले विद्यार्थीहरूले एमएस्सी मेडिकल माइक्रोबायोलोजी उत्तीर्ण भएर पनि नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट दर्ता प्रमाणपत्र नपाउनु भनेको शिक्षकहरू अयोग्य सावित हुने बताउँदै माग पूरा गराउन सङ्घर्ष गर्नुपर्ने औंल्याउनुभयो। 

नेक्राविसङ्घका केन्द्रीय सदस्य सबिन ख्याजूले विज्ञान तथा प्रविधि मन्त्रालयमा सबैभन्दा कम बजेट हुनु र सत्ताधारी दलहरूमा देश विकासको कुनै चाहना नहुनाले संवेदनशील मेडिकल क्षेत्रहरू भत्ताभुङ्ग भएको ठोकुवा गर्दै भ्रष्टाचारविरुद्ध पनि आवाज बलियो पार्नुपर्ने बताउनुभयो। 

नेपलिज सोसाइटी फर माइक्रोबायोलोजीका अध्यक्ष डा. रजनी मल्ल, एम एस्सी, माइक्रोबायोलोजीका संयोजक डा. विद्या श्रेष्ठ, मञ्जु शाक्यले विद्यार्थीहरूको गुणस्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्वीकारिरहेको औंल्याउनुभयो। 

कार्यक्रममा नेविसङ्घका विनय राम भट्ट, अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझी, अनेरास्ववियुका लक्ष्मी आचार्य, अखिल (पाँचौं) का विनोद आचार्य, नेलोविफ्रन्टका जेपी गुप्ता, विद्यार्थी फ्रन्टका अशोक यादव, नेपाल मेडिकल माइक्रोबायोलोजी एसोसियसनका अध्यक्ष जनकराज ढुंगाना, कुलराज राईलगायतले सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो। 

सङ्घर्ष समितिले एमएस्सी मेडिकल माइक्रोबायोलोजी उत्तीर्ण विद्यार्थीहरूलाई एनएचपीसी दर्ता प्रमाणपत्र दिनुपर्ने, शैक्षिक संस्थाहरूमा माइक्रोबायोलोजी अध्यापन अनुमति दिनुपर्ने, सरकारी तथा निजी अस्पतालहरूमा कम्तीमा एकजना माइक्रोबायोलोजिष्ट राख्नुपर्ने, लोकसेवा आयोगमार्फत् दरबन्दी व्यवस्था गर्नुपर्ने, माइक्रोबायोलोजिष्ट परिषद् गठन हुनुपर्ने, माइक्रोबायोलोजी अनुसन्धान केन्द्र खोलिनुपर्नेलगायतका मागसहित सङ्घर्षका कार्यक्रमहरू चलाइरहेका छन्।