धानको बीउ राख्न नपाएर किसान चिन्तित
मीना ढकाल
बुटवल, २८ जेठ। जेठ महिना सकिन लाग्दा पनि रूपन्देही, कपिलवस्तु र नवलपरासीमा धानको बीउ राख्न नपाएर किसान चिन्तित बनेका छन्। धानको बीउ छर्ने बेलामा विद्युत् सप्लाइमा भएको अनियमितताका कारण भुमिगत जलस्रोत सिंचाइ आयोजनामा असुविधा उत्पन्न हुँदा किसानहरू मर्कामा परेका छन्। बारम्बारको लोडसेडिङ र टि्रपिङका कारण बोरिङमार्फत भूमिगत जलस्रोत उपभोग गर्न नपाउँदा किसानहरू धानको बीउ राख्न नपाएर चिन्तित बनेका हुन्। प्रचण्ड गर्मी र सुख्खा यामका कारण खेती किसानीमा समस्या नआवस् भनी सरकारले विभिन्न दातृ राष्ट्र तथा निकायहरूको सहयोगमा स्थापना गरेका डिप बोरिङहरू अहिले किसानहरूका लागि थप तनावको साधन बनेका छन्। लोडसेडिङ, लो भोल्टेज र टि्रपिङका कारण यहाँ स्थापना गरिएका डिप बोरिङले पानी नतानेपछि निकै समस्यामा परेको गुनासो किसानहरूको छ। किसानहरू भन्छन् – वर्षा याम सुरू भयो तर आकासबाट एक थोपा पानी परेको छैन, जनताले निर्माण गरेका इनार, ट्यूवेल, चापाकल सुकेका छन्। किसानहरूका अनुसार सरकारले निर्माण गरेका स्यालो ट्यूवेल, डिप बोरिङ विद्युत् नपाएर सञ्चालन हुन सकिरहेका छैनन्।
उनीहरूका अनुसार एक त लोडसेडिङको समस्या विद्युत् सप्लाइ भएको समयमा लो भोल्टेजकोे समस्या अनि घरीघरी ट्रान्समिटरका स्विच खस्ने टि्रपिङको समस्याजस्ता समस्याका कारण जेठको अन्त्य सम्म सकिसक्नु पर्ने धानको ब्याड राख्ने र बीउ छर्ने काम अझै सुरू हुन सकेको छैन।
विद्युत्को समस्याका कारण यस्तो भइरहेको र समस्या समाधानका लागि सम्बन्धित निकायसँग माग भइरहेको भूमिगत जलस्रोत कार्यालय बुटवलले जनाएको छ। किसानहरूको मुख्य बाली धानबाली लगाउने बेलामा भएको यो समस्या समाधान गर्न सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरिएको कार्यालय प्रमुख नरेन्द्र खत्रीले बताउनुभएको छ।
रूपन्देही, नवलपरासी र कपिलवस्तुमा झण्डै ३० हजार हेक्टरमा भुमिगत जलस्रोतको सिंचाइ सुविधाको पहुँच पुगेको छ। तीन जिल्लामा हालसम्म एक हजार भन्दा बढी भूमिगत जलस्रोत सिंचाइका लागि ट्यूवेल तथा डिप बोरिङहरू स्थापना गरी सञ्चालन गरिएका छन्।
|