September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

आत्मनिर्णयको अधिकारले विखण्डन

काठमाडौं, २८ जेठ। 'आत्मनिर्णयको अधिकारसहितको जातीय, भाषिक र क्षेत्रीय राज्यहरू बनाउनु देश विखण्डनका निम्ति बाटो खोल्नु हुन्छ। पूर्वसोभियत सङ्घ, युगोस्लाभिया र चेकोस्लाभाकियाको विखण्डन तथा हालै युक्रेन क्रिमियाबाट छुटेर रूसमा गाभिन पुगेका उदाहरणबाट नेपालले शिक्षा लिन सक्नुपर्छ।' 

उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) ले बिहीबार रेडियो नेपालको 'अन्तरसंवाद' कार्यक्रममा अन्तर्वार्ताको क्रममा व्यक्त गर्नुभएको हो।  

उहाँले जातीय, भाषिक र क्षेत्रीय राज्यका पक्षपातीहरू र विपक्षीहरू संविधानसभामा आ–आफ्नो अडानबाट पछाडि हटेका छैनन् भन्दै यसै विवादले विगतमा झैं संविधान बन्न नदिने सम्भावना छ भन्नुभयो।  

हिन्दुस्तान धार्मिकरूपले हिन्दु र मुसलमान दुइटा देशमा विभाजन हुँदा रगतको खोला बगेको र लाखौंलाखको अनाहक ज्यान गएको प्रसङ्ग कोट्याउँदै उहाँले जातीय  राज्यको र साम्प्रदायिक नारा दिनेहरूले भोलि जातीय द्वन्द्व चर्केमा कस्तो स्थिति आउने हो राम्ररी सोच्नुपर्ने बताउनुभयो।  

सामर्थ्य र पहिचानका आधारमा राज्यको पुनर्संरचना गर्ने भन्नु अमूर्त कुरा भएको बताउँदै अध्यक्ष बिजुक्छेंले सबै प्रादेशिक राज्यले हिमाल, पहाड र तराई पाउने गरी भूगोल र प्राकृतिक स्रोत–साधनको आधारमा राज्य पुनसर्ंंरचना गर्नुपर्नेमा जोड दिनुभयो।  

जात–जाति र भाषा–भाषीको भाषा र संस्कृति संरक्षणको जिम्मा  जिविस, नगरपालिका र गाविसलाई दिनुपर्ने र स्थानीय निकायलाई थप स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने उहाँले बताउनुभयो।  

स्रोत साधनको उचित बाँडफाँटमा मानवीय शक्ति पनि पर्ने उहाँले स्पष्ट पार्नुभयो।  

सबै प्रदेशले हिमाल, पहाड र तराई नपाएको खण्डमा सबै प्रदेशले अन्न र पर्यटन उद्योगका निम्ति पूर्वाधार नपाउने र भावी पुस्ताले प्रदेश विभाजनलाई नमान्ने उहाँले स्पष्ट पार्नुभयो।  

२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि सरकारमा गएकाहरूले स्थानीय निकायलाई विकेन्द्रीकरण र स्वायत्तताको अधिकार दिएको भए जातीय राज्यको माग गर्ने यति सार्‍हो नउठ्ने बताउँदै अध्यक्ष बिजुक्छेंले शासक दलका  नेताहरूमा संवेदनशीलताको अभावले विद्रोह जन्माएको र अझै बढी संवेदनशीलनता जरूरी रहेको स्पष्ट पार्नुभयो।  

सरकारसित समानान्तर अर्थतन्त्र चलाइरहेका राष्ट्रिय रअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले दाताहरूका योजना नेपाली जनतामाथि लागू गरिरहेको बताउँदै उहाँले हिजो उपनिवेशवादीहरू बन्दुक बोकेर आउँथे र आज डलर लिएर आइरहेका छन् भन्नुभयो।  

नगरपालिका घोषणासम्बन्धी एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेंले पूर्वाधार नभएको गाउँलाई नाममात्रको नगरपालिका घोषणा गर्नु जनतालाई झुक्याउने र चुनाव जित्ने दाउमात्र भएको बताउनुभयो।