'नगर घोषणा गरेर बन्दोबस्त नगर्नु अपराध हुन्छ'
भक्तपुर, २९ जेठ। जिल्ला विकास समिति भक्तपुरले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको पत्रअनुसार गाविसलाई नगरक्षेत्र निर्धारण गर्ने एवं पुराना नगरपालिकामा पायक पर्ने गाविसहरू गाभ्नेबारे छलफल आयोजना गर्यो।
छलफलमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) ले गाविस भएसम्म आत्मसम्मान नपाउने र विकास नहुने कुरा गलत भएको उल्लेख गर्दै घोषणा भएका नगरपालिकाहरूमा फोहरमैला, ढल, खानेपानीको व्यवस्थापन नभएको बताउनुभयो।
उहाँले जनतासँग व्यापक छलफल गरेरमात्र नगरपालिका घोषणासम्बन्धी निर्णय गर्नुपर्ने विचार राख्दै नगरपालिका घोषणा गरेर आवश्यक बन्दोबस्त नगर्नु अपराध नै हुने उल्लेख गर्नुभयो।
नेमकिपाका अर्का सभासद् प्रेम सुवालले स्थानीय स्वायत्त शासन ऐन र नगरसम्बन्धी अन्य ऐनबारे जनतालाई बताएर र आवश्यक भौतिक पूर्वाधार तयार गरेरमात्र नगरपालिका घोषणा गर्ने वा पुरानोमा गाभ्ने उचित हुने उल्लेख गर्नुभयो।
उहाँले १०–१५ दिन तातेर नहुने, समय बढाएर गाविसका जनताबीच छलफल चलाउनुपर्ने र पूर्वाधार तयार गरेर सिङ्गो गाविस वा केही वडाहरू छुट्याएर भए पनि वैज्ञानिक र व्यवस्थित ढङ्गले नगरपालिका घोषणा गर्नुपर्ने बताउनुभयो।
नेमकिपाका अर्का सभासद् अनुराधा थापामगरले स्वास्थ्य उपचार, सडक, खानेपानी र अन्य सुविधा पाउन नगरपालिका नै घोषणा हुनुपर्ने विचार उचित नभएको धारणा राख्नुभयो।
एमालेका सभासद् केदारप्रसाद सञ्जेलले बढ्दो सहरीकरण रोक्न नसक्ने बताउनुभयो।
भक्तपुर जिल्ला पार्टीको तर्फबाट नेमकिपाका अध्यक्ष रमेश थापा श्रेष्ठले विदेशीको कुरा सुनेर नगर घोषणा गर्न नहुने उल्लेख गर्दै जनतासँग सल्लाह गरेर निर्णय गर्नुपर्ने बताउनुभयो।
नेकाका गणेशमान चक्रधरले नगरपालिका घोषणा गर्नुपर्ने विचार राख्नुभयो भने एमालेका राजेन्द्र राजथलाले जनप्रतिनिधि भए निर्णय गर्न सजिलो हुने बताउनुभयो।
मालेका अदीप खड्का, राप्रपा नेपालका चौवत्ती कार्की, नेकपा–माओवादीका देवेन्द्र श्रेष्ठले हचुवामा घोषणा गर्न नहुने बताउनुभयो।
मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले राजनीतिक सहमति भएमात्र घोषणा हुने स्पष्ट गनुृभयो।
छलफलमा स्थानीय विकास अधिकारी अर्जुनकुमार थापा र योजना अधिकृत ढोलकराज ढकाल, सहसचिव गोपीकृष्ण खनाल, समितिका अध्यक्ष प्रा. केशवनन्द गिरी, दोरमणि पौडेलले पनि बोल्नुभएको थियो। |