व्यापारीका निम्ति विश्वकप
भक्तपुर, ३० जेठ। विश्वकप २०१४ सुरु हुँदै गर्दा यहाँका कपडा पसलमा विश्वकपसँग सम्बन्धित सामान किन्नेको भीड लागेको छ। विश्वकपका लागि व्यागमा झुण्ड्याउने कि रिङ, व्याग, रुमाल, बल, पर्स, जुत्ता, टीसर्ट, जर्सी आदि सामानहरू भित्रिएका छन्। त्यस्तै यी सामानहरू किन्ने भीडमा विशेषतः आजका युवापुस्तालाई देख्न सकिन्छ भने बाटोमा झुण्ड्याइएका विभिन्न रङका थरीथरीका देशका झण्डाहरूले पनि विश्वकपको माहोललाई अझ तताएको पाइन्छ।
विश्वकपमा विभिन्न देशको सहभागिता भए पनि मानिसहरूले आफ्नो रुचिअनुसारका देशका जर्सी लगाउने गरेका छन्। भक्तपुरको टौमढीमा भेटिएका आदर्शका कृष्णप्रसाद छुस्याकी अर्जेन्टिनाको जर्सी लगाई विश्वकपको माहोलमा आफू पनि संलग्न रहेका छन्। उनी भन्छन् ४ वर्षमा एकपटक आउने विश्वकपको रङमा नरङ्गी रहन सकिनँ। त्यसैले विश्वकप सुरु भए लगत्तै मैले पनि आफ्नो मन पर्ने फुटबल टिमको जर्सी लगाएर हिंडेको छु।
विश्वकपको समयमा विश्वकपको चिनो भएका सामानहरू किन्ने र बेच्नमा मानिसहरू व्यस्त रहेका छन्। सूर्यविनायकमा कपडाको पसल भएका ललितपुरका किश्ाोर राउट एकदमै व्यस्त छन्। उनका पसलमा विश्वकपसँग जोडिएका सामानको लागि धाउने मानिसको कमी छैन। उनी भन्छन् पसलमा दिनहुँ करिव ५० जना मानिसहरू आउने गर्छन्। विश्वकपको समय भएकोले ग्राहक पनि बढेको छ। विश्वकपका विभिन्न सामानहरूमध्ये धेरैजसो जर्सी बिक्ने गर्दछ भने रुमाल, ब्रास्लेट पनि बिक्ने गर्दछ। उनी थप्छन्, २०१० को तुलनामा यो वर्ष विश्वकपका महत्वकांक्षी मानिसहरू सोचेको भन्दा बढी रहेका छन्। विश्वकप सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै विश्वकपसँग सम्बन्धित सामानहरूको विक्री भएको छ र सामान विक्री वितरण अझै पनि उस्तै रहेको छ भने यो क्रम अब तीन चार दिनसम्म रहने उनको अनुमान छ। गएको विश्वकपको समयमा उनको पसलबाट करिब ३ लाखको कारोबार भएको उनको भनाइ छ।
विश्वकपकै लागि जर्सी खोज्दै हिंडेका सिर्जनानगरका उमा केसी केटीहरूको लागि जर्सी सहजै उपलब्ध नभएको दुःखेसो व्यक्त गर्दै भन्छिन् आफूले जर्सी खोजेको भएर तीन दिन भइसक्यो, कतै पनि पाइनँ। त्यसैले जेन्टस् भएपनि सानो साइजमा लिन लागेकी छु।
जर्सी किन्नका लागि आउने व्यक्तिहरू पूर्व तयारीका साथ मलाई यो देशको जर्सी दिनुस् न भन्दै आउने गरेको बताउँछन् गःपलीका लुगापसलका साहुजी रविन्द्र सापकोटा। उनका अनुसार विशेष गरी उनका पसलमा आउने ग्राहकले ब्राजिल, अर्जेन्टिना, स्पेन र जर्मनीका जर्सीहरू किन्ने गरेका छन्। विश्वकपको रङले युवाजमातलाई मात्र नभई बालबालिकालाई पनि प्रभाव पारेको छ। दधिकोटका रामदेवी श्रेष्ठका १३ वर्षीय छोराले विश्वकपको सुरुवात हुनुभन्दा एक हप्ता अगाडिदेखि ब्राजिलको जर्सी माग गरेको उनी बताउँछिन्। घर वरपरका साथीहरूले जर्सी लगाएर हिंडेपछि उनका छोरा प्रशान्तले पनि आफ्ना बाबुआमालाई जर्सी चाहियो भनी कराउन थालेको हो। त्यसैले उनी पनि जर्सी खोज्दै हिंडेकी छिन्।
यसरी विश्वकपप्रति ससाना बालबालिकादेखि युवामा पनि फुटबलको क्रेज बढ्न थालेको छ। बाटोमा प्रायजसो मानिसले लगाएका पहिरन र उनीहरूको फुटबलको कुराकानीबाट पनि यो कुरा प्रष्ट छ।
|