September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विद्युत् आपूर्तिमा अनियमितताका कारण किसान मर्कामा

बुटवल, ३० जेठ। विद्युत् आपूर्तिमा भएको अनियमितताका कारण भूमिगत जलस्रोत सिंचाइ आयोजनाका भरमा खेती गर्ने यहाँका किसान मर्कामा परेका छन्। 

लगातारको विद्युत् भार कटौती र पटक–पटकको विद्युत् टि्रपिङ, लो भोल्टेजजस्ता कारण बोरिङमार्फत् भूमिगत सिंचाइका लागि पानी तानेर उपभोग गर्न नपाउँदा यस क्षेत्रका किसान असार लाग्नै थाल्दासमेत धानको बीउ राख्न नपाएर चिन्तित बनेका छन्। 

धानको बीउ छर्ने बेलामा प्रचण्ड गर्मी र सुक्खायामका कारण खेती किसानीमा समस्या नहोस् भनी सरकारले विभिन्न दातृ राष्ट्र तथा निकायको सहयोगमा स्थापना गरेका डिप बोरिङ अहिले किसानका लागि थप तनावका साधन बनेका छन्।  

विद्युत् भार कटौती, लो भोल्टेज र टि्रपिङका कारण यहाँ स्थापना गरिएका डिप बोरिङले पानी नतानेपछि खेतीपाती गर्ने समयमा निकै समस्यामा परेको रूपन्देहीको सेमलार–पर्रोहा संयुक्त भूमिगत जलस्रोत परियोजनाका अध्यक्ष बुद्धिप्रसाद ढकाल गुनासो गर्नुहुन्छ। 

अध्यक्ष ढकालका अनुसार वर्षायाम सुरू भइसक्दा पनि आकासबाट एक थोपा पानी नपर्दा इनार, ट्युबवेल, चापाकल आदि सुकेका छन्। यससँगै सरकारले निर्माण गरेका स्यालो ट्युबवेल, डिप बोरिङ पनि विद्युत् नपाएर सञ्चालन हुन सकिरहेका छैनन्।  

जेठको अन्त्यसम्म सकिसक्नुपर्ने धानको ब्याड राख्ने काम अझै सुरू हुन नसकेको पर्रोहा वडा नं २ का किसान रामबहादुर विक बताउनुहुन्छ। 

विद्युत्को समस्याका कारण यस्तो भइरहेको भन्दै त्यसको समाधानका लागि सम्बन्धित निकायसँग अनुरोध भइरहेको भूमिगत जलस्रोत कार्यालय बुटवलले जनाएको छ।  

किसानको मुख्य धानबाली लगाउने बेलामा भएको यो समस्या समाधान गर्न सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरिएको कार्यालय प्रमुख नरेन्द्र खत्रीले बताउनुभएको छ। रूपन्देही, नवलपरासी र कपिलवस्तुमा झण्डै ३० हजार हेक्टरमा भूमिगत जलस्रोतको सिंचाइ सुविधाको पहँुच छ। तीन जिल्लामा हालसम्म एक हजारभन्दा बढी भूमिगत जलस्रोत सिंचाइका लागि ट्युबवेल तथा डिप बोरिङ स्थापना गरी सञ्चालन गरिएका छन्।