एसएलसीको नतिजामा झिनो सुधार ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण
– हरिसुन्दर छुकां
भक्तपुर, ३० जेठ। शिक्षा क्षेत्रको सुधारका लागि सरकारले वर्सेनी अर्बौं खर्च गरे पनि त्यस अनुसारको परिणाम भने हासिल गर्न सकेको छैन। यसको ज्वलन्त उदाहरणको रूपमा यो वर्षको एसएलसीको परीक्षाफलले देखाएको छ। विद्यालय तहको अन्तिम खुड्किलो मानिने प्रवेशिका अर्थात् एसएलसीको शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको परीक्षाफलअनुसार यो वर्ष ४३ दशमलव ९२ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भएका छन् भने अझै पनि ५६ दशमलव ०८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। गत वर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए। गत वर्षको भन्दा यो वर्ष २ दशमलव ३५ प्रतिशतले मात्र नतिजामा सुधार भएकोलाई सुधारोन्मुख भएको दाबी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार यस वर्षको एसएलसी परीक्षामा ५ लाख ४८ हजार २ सय ४८ जना परीक्षार्थी सहभागी भएका थिए जसमध्ये नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ र एक्जाम्टेडतर्फ १ लाख ३३ हजार ६ सय २६ जना रहेका थिए।
कार्यालयका अनुसार १८ हजार ११० परीक्षार्थी विशिष्ट, ८३ हजार ६ सय ३७ जना प्रथम श्रेणीमा पास भएका छन् भने ६७ हजार ९ सय ४२ दोस्रो र ३१ हजार ७ सय ४७ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन्। त्यस्तै एक्जाम्टेडतर्फ प्रथम श्रेणीमा २ सय ०६, द्वितीय श्रेणीमा ११ हजार ४ सय ७७ र तेस्रो श्रेणीमा २ हजार ९ सय ०८ परीक्षार्थी उत्तीर्ण भएका छन्।
कार्यालयका अनुसार नियमिततर्फ ५ हजार ५ सय ३१ परीक्षार्थीले परीक्षा छाडेका छन् भने १ हजार ३ सय ९ को परीक्षा स्थगन गरिएको छ।
यस्तै आंशिकतर्फ १४ हजार ५ सय ९१ परीक्षार्थी अर्थात् १०.९२ प्रतिशत पास भएका छन्।
एक्जाम्टेटतर्फ १ लाख ३३ हजार ६ सय २६ को १०.९२ प्रतिशत हो। २०६ परीक्षार्थी प्रथम श्रेणीमा पास भएका छन्। ११ हजार ४ सय ७७ दोस्रो र २ हजार ९ सय ८ जना तेस्रो श्रेणीमा उत्तीर्र्ण भएका छन्। ३ सय ७३ जनाको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रकाशित नतिजाअनुसार नियमिततर्फ १ लाख ९९ हजार ८ सय ४६ जनामध्ये ९८ हजार ७ सय ७७ अर्थात् ४९ दशमलव ४३ प्रतिशत छात्र र १ लाख ९५ हजार ०८७ जना छात्रामध्ये ७४ हजार ६ सय ५९ अर्थात् ३८ दशमलव २७ प्रतिशत उत्तीर्ण भएका छन्।
कार्यालय सानोठिमीले गत चैत ६ गतेदेखि १४ गतेसम्म सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल ७७ औं दिनमा सार्वजनिक गरिएको हो।
यस वर्षको परीक्षामा १ हजार ८ सय ३६ परीक्षा केन्द्र कायम गरिएको थियो। परीक्षाका लागि देशभर ५३ हजार ७६ जनशक्ति र सुरक्षाका लागि देशभर १८ हजार ३ सय ६० प्रहरीलाई खटाएको थियो।
पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक द्वारेले परीक्षाफल वर्सेनी सुधारोन्मुख भएको प्रतिक्रिया दिंदै आगामी वर्षमा अझै बढ्ने दाबी गर्नुभयो। उहाँले यो वर्ष परीक्षाफलमा सुधार भए पनि सन्तोषजनक नभएको पनि बताउनुभयो।
|