September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विश्वकपसँगै इलेक्ट्रोनिक्स व्यापारमा वृद्धि


    भक्तपुर, १ असार। बदलिँदो परिवेशसँगै मानिसको आकाङ्क्षाले पनि ठूलो रूप लिन थालेको छ। विश्वकपको आगमनसँगै मानिसमा ठूल–ठूला एलईडी टीभी किन्ने लहर चल्न थालेको छ। 
    कमलविनायकका सत्यओम फाँजूका घरमा टीभी नभएको होइन तापनि उनी आफ्नो घरको लागि पचास इञ्चको एलईडी टीभी किन्न लागेको बताउँछन्। फेरि उनलाई टीभी पनि सोनी ब्राण्डकै चाहिएको छ। त्यसैले विभिन्न पसलहरूमा चहार्दै उनी दूधपाटीको न्यू डीएम इलेक्ट्रोनिक्समा आइपुगे। ५२ इञ्चको एलईडी टीभीको खोजीमा हिँडेका उनले भने, 'ठूलो स्त्रि्कनमा फूटबल हेर्नुको मज्जा नै बेग्लै हुन्छ। त्यसमाथि पनि विश्वकप विशेष प्याकेजमा श्यामसुङ र सोनी ब्राण्डको लागि धेरै रकम छुट पनि रहेको छ। त्यसैले यही समयमा टीभी किन्न लागेको हुँ।' 
    दूधपाटीको न्यू डीएम इलेक्ट्रोनिक्समा पनि विश्वकपको दौरानमा टीभी किन्न आउनेको भीड लागेको छ। धीरेन्द्र मुनकर्मी भन्छन्, 'अन्य समयको तुलनामा यो समयमा १० गुणा बढी व्यापार बढेको छ।' अहिले स–साना साइजका टीभीभन्दा ठूल्ठूला साइजका ३२ इञ्चदेखि ६० इञ्चसम्मका टीभीहरू बढी बिक्ने गरेको उनको भनाइ छ। आधुनिक समयमा मानिसको सौख पनि बदलिएको उनी बताउँछन्। अचम्म मान्दै उनी थप्छन्, 'खै आजकलका मानिसहरूमा कहाँबाट मात्र पैसा आउने हो यस्तो महङ्गो सामान पनि प्रयोगमा ल्याउने क्षमता छ।' उनको पसलमा भक्तपुरका मात्र नभई काठमाडौंका विभिन्न स्थानबाट मानिसहरू विश्वकप हेर्नका लागि टीभी किन्न आउने गरेको बताउँछन्। 
    खौमाका इलेक्ट्रोनिक्स पसलका व्यापारी नारायणप्रसाद बलका अनुसार अन्य समयको तुलनामा विश्वकपको समयमा उनका पसलबाट टीभी किन्नको लागि आउने ग्राहकहरू ३० देखि ३५ वर्ष उमेर समूहका बढी छन्। कोही ग्राहक साथीसँग ऋण काढेर त कोही आफन्तहरूबाट सापत लिएर टीभी किन्न आउने गर्छन्।
    सुडालका सविन दुलाललाई पनि विश्वकपले नछोएको होइन तर उनको आर्थिक अवस्थाले उनलाई ठूलो साइजको एलईडी टीभी भने किन्न दिएन। त्यसैले उनी घरमै भएको कम्प्युटरमा टीभी कार्ड जोडी विश्वकपको प्रत्यक्ष प्रसारण हेरेको बताउँछन्।