|
नतिजा सन्तोषजनक भएनः शिक्षामन्त्री
काठमाडौं, १ असार। शिक्षामन्त्री चित्रलेखा यादवले एसएलसी परीक्षाको परिणामलाई सन्तोषजनक मान्न नसकिने बताउनुभएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) को पांचौा राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री यादवले भन्नुभयो, “एसएलसीको परिणाम हेर्दा त्यो सन्तोषजनक रहेन, समस्याको पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने भएको छ।” यादवले असल र सुसंस्कारयुक्त जनशक्ति निर्माणका लागि शिक्षण सिकाइको शैली महत्त्वपूर्ण हुने बताउँदै देशको विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो। एसोसिएसनका अध्यक्ष तथा सभासद् गीता राणाले विभेदयुक्त शिक्षाको अन्त्य गरी बालबालिका केन्द्रित र निजी विद्यालयलाई सहज हुने प्रकारको शिक्षा नीति ल्याउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो। अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, राष्ट्रिय अभिभावक सङ्घ नेपालका अध्यक्ष धर्मदत्त देवकोटा, निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसी, एन. प्याब्सनका वरिष्ठ उपाध्यक्ष पङ्कजसिंह राठौर, पूर्वमहासचिव कर्णबहादुर शाहीलगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो। शनिबारदेखि सुरू भएको महाधिवेशनमा विभिन्न ३५ जिल्लाबाट एक हजार २०० प्रतिनिधि सहभागी रहेको एन. प्याब्सनका उपत्यका सचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो। |