|
काठमाडौलाई व्यवस्थित सहर बनाउन प्रमको ध्यानाकर्षण
काठमाडौं, १ जेठ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) ले काठमाडौं उपत्यकाको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्न र देशको सन्तुलित विकास गर्न बाहिरकालाई अचल सम्पत्ति खरिद गर्न नपाउने व्यवस्था गर्नुपर्ने विचार राख्नुभयो। काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरको कूल १५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरूको तर्फबाट काठमाडौं उपत्यकावासीहरूले भोग्नुपरेको समस्या र त्यसको समाधानबारे अवधारणापत्र प्रम सुशील कोइरालालाई हस्तान्तरण गर्ने क्रममा अध्यक्ष बिजुक्छेंले उक्त विचार राख्नुभएको हो। प्रम निवास बालुवाटारमा बिहान प्रम कोइरालासँग सांसदहरूको भेटमा अध्यक्ष बिजुक्छेंले पूर्वाधार तयार नगरी नगरपालिका घोषणा गर्न नहुने र खानेपानीको लागि नगरकोट एवं वागेश्वरीको मुहान खोलामा बाँध बाधेर वर्षाको पानी सङ्कलन गर्नुपर्ने तथा गोदावरी र शिवपुरीको जङ्गललाई जलाधार क्षेत्र घोषणा गरी पानीको स्रोत बढाउन सक्ने विचार राख्नुभयो। उहाँले जिल्लाका सरकारी कार्यालयहरूले स्थानीय निकायसँग सहमति लिई योजना पठाउने र बजेट खर्च गर्ने गरेको रोक्ने उल्लेख गर्दै काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा संरक्षण गरी पर्यटन उद्योग विस्तार गर्नसक्ने विचार राख्नुभयो। उहाँले अवधारणापत्र पूर्ण नभएको र परिमार्जन आवश्यक भएको प्रमलाई जानकारी गराउनुभयो। प्रमसँगको छलफलमा सांसदहरू नरहरि आचार्य, भीमसेनदास श्रेष्ठ, चन्द्र महर्जन, मदनबहादुर अमात्य, प्रेम सुवाल, ध्यानगोविन्द रञ्जित, रामेश्वर ढुङ्गेल, रामेश्वर फुयाल, गगन थापाको सहभागिता थियो। प्रम कोइराला स्वास्थ्य उपचार गर्न संरा अमेरिका जानुअघि एक दिनअघिको छलफलमा सहभागी सांसदहरूले प्रम कोइरालाको सुस्वास्थ्यको कामना गर्नुभयो।
|