|
भक्तपुरबाट ८५.८८ प्रतिशत उत्तीर्ण
हरिसुन्दर छुकां भक्तपुर, १ असार। शैक्षिक गन्तव्यको रूपमा विकास भइरहेको भक्तपुरको उत्तीर्ण प्रतिशत वर्सेनि बढ्दै छ। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले शुक्रबार प्रकाशित गरेको परीक्षाफलमा देशभरको उत्तीर्ण प्रतिशत चित्तबुझ्दो नभए पनि भक्तपुरको परीक्षाफल सन्तोषजनक छ। जिल्ला शिक्षा कार्यालयका अनुसार यस वर्षको एसएलसीमा भक्तपुरबाट ८५ दशमलव ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जुन गत वर्ष २०६९ को भन्दा करिब ६ दशमलव ८८ प्रतिशतले बढी हो। कार्यालयका कर्मचारी मोतीराम तिमल्सिनाका अनुसार यो वर्ष भक्तपुरबाट सहभागी कूल ५ हजार ३ सय ४६ जना विद्यार्थीमध्ये कूल ४ हजार ५ सय ९१ जना विद्यार्थी सफल भएका हुन्। कार्यालयको अनुसार नियमिततर्फ उत्तीर्ण विद्यार्थीमध्ये १ हजार २ सय ४३ जनाले विशिष्ट, २ हजार ७ सय ४५ जनाले प्रथम, ५ सय ९५ जनाले दोस्रो र ८ जनाले मात्र तृतीय श्रेणीमा उत्तीर्ण गरेको छ। कार्यालयका कम्प्युटर शाखाका तिमल्सिनाले समाचार तयार गर्दासम्म प्रारम्भिक नतिजा आएको बताउनुभयो। उहाँले यो वर्ष एक्जाम्टेडतर्फको परीक्षामा कूल ४ सय ८० जनाले परीक्षा दिएकोमा १५ दशमलव ६३ प्रतिशत विद्यार्थी अर्थात् ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो। उत्तीर्णमध्ये प्रथम श्रेणीमा २, द्वितीय श्रेणीमा ६४ र तृतीय श्रेणीमा ७५ जना रहका छन्। यो वर्ष सामुदायिक र संस्थागत गरी जम्मा १ सय ८५ वटा स्कूलले सहभागिता जनाएको जनाउनुभयो। उहाँका अनुसार यो वर्ष ३९ वटा सामुदायिक २ वटा खुला विद्यालय र १ सय ४४ वटा संस्थागत विद्यालयले सहभागिता जनाएका छन्। त्यसमध्येमा संयुक्त परीक्षा समितिअन्तर्गतका १५ मध्ये १ र सामुदायिक परीक्षा समिति अन्तर्गतका २३ वटामध्ये १ स्कूलले यो वर्ष पनि सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो। यसरी उत्तीर्ण गराउनेमा नंखेल चित्तपोलको जोरपाटी मावि र भक्तपुर नगरपालिका तेखापुखुको कन्या सहशिक्षा मावि रहेका छन्। समग्र देशको परिणामले देशको परीक्षाफलले निराशाको स्थिति आएको देखाएको र शिक्षामा भइरहेको लगानी डुबेको देखाए पनि भक्तपुरको अवस्थाले भने केही आश गर्ने ठाउा भेटिएको तथ्याङ्कले देखाएको छ। यस्तो हुनुमा भक्तपुरले लिएको शैक्षिक अभियानले भूमिका खेलेको धेरैको भनाइ छ। संयुक्त परीक्षा समिति अन्तर्गतको सदस्य विद्यालय जोरपाटी माविका प्रधानाध्यापक शेरबहादुर ङाखुसीका अनुसार परीक्षामा सफलताका लागि परीक्षा समितिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको छ। उहाँले समितिको निर्देशनअनुसार स्कूल स्कूलले तयारीलाई प्रभावकारी बनाउँदा समग्र जिल्लाको परिणाम राम्रो भएको बताए। संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का महासचिव एवं विद्या आर्जन स्कूलका प्रिन्सिपल पुरूषोत्तम ग्वाछाले यो सन्दर्भमा भन्नुभयो, 'आवश्यकता आविष्कारको जननी हो। हरेक विकासोन्मुख राष्ट्रलाई अघि बढाउन शिक्षालाई जोड दिनुपर्दछ। भक्तपुरको हकमा भन्नुपर्दा राजनीतिक र सामाजिक रूपमै शिक्षालाई जोड दिइएको छ। भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने जनचाहना र तद्अनुरूप विद्यालयहरूले आ–आफ्नो कार्ययोजना र सही निर्देशन, सही निर्देशनले पढाइप्रति चासो वृद्धि र अभिभावक, शिक्षक र समाजकै शिक्षाप्रतिको चासो नै भक्तपुर जिल्लाको शैक्षिक विकासको लागि आधार बनेको हो।' यसैगरी एनप्याव्सन भक्तपुरका सदस्य विद्यालय पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवां र प्याव्सन भक्तपुरका सल्लाहकार एवं विनायक स्कूलका प्रिन्सिपल भुवन श्रेष्ठले एसएलसीमा भक्तपुरले गरिरहेको प्रगतिमा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको लगन भएको बताउनुभयो। |