|
विद्यालय विद्यालयमा बुद्धिचाल
भक्तपुर, २ असार। विश्व बुद्धिचाल महासङ्घले विद्यालय स्तरबाटै बुद्धिचालका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालका ७ वटा जिल्लाका विद्यार्थीहरूको बौद्धिक विकासका लागि बुद्धिचाल खेलको प्रशिक्षण सुरु गरेको छ। ती सात जिल्लाहरूमा भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, वीरगञ्ज, झापा र कास्की पर्दछन्।
भक्तपुरका ख्वप्रिङ एकेडेमी, वागीश्वरी उमावि, जेन्युन सेकेण्डरी स्कूल, एभरेष्ट इङलिस स्कूल, वाइजल्याण्ड सेकेण्डरी स्कूल, प्रोक्सिमा इन्टरनेसनल स्कूल, बाल विकास इङ्लिस स्कूल, कालिका सेकेण्डरी स्कूल, जया बोर्डिङ स्कृुल, पारागन एकेडेमी, सूर्याेदय इङ्लिस स्कूल, प्रभात इङलिस सेकेण्डरी स्कूल, हिमालयन ग्लोरी र द राइजिङ इङलिस स्कूल गरी जम्मा १४ विद्यालय छनौट भएका छन्। यो प्रशिक्षण जम्मा तीन महिनाको रहेको भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका सचिव निरञ्जन प्रजापति बताउँछन्। प्रशिक्षणको लागि विश्व बुद्धिचाल महासङ्घबाट लाइसेन्स प्राप्त तथा फिडे इन्सट्रकटर नै प्रशिक्षकको रुपमा रहने उनको भनाइ छ।
त्यस्तै प्रशिक्षणको लागि बुद्धिचाल महासङ्घले प्रत्येक विद्यालयमा १० वटा चेस बोर्ड र १ वटा घडी सहयोग स्वरुप दिएको ख्वप्रिङ एकेडेमीका प्रिन्सिपल विनोद प्रजापति बताउँछन्। उनका अनुसार ख्वप्रिङ एकेडेमीमा जेठ २५ देखि नै प्रशिक्षण सुरु भएको छ र एउटा विद्यालयबाट १० देखि २० जना विद्यार्थीहरू प्रशिक्षित हुनेछन्।
|