लागू पदार्थ दुर्व्यसनीविरुद्ध विद्यालयहरूमा प्रशिक्षण
भक्तपुर, २ असार। नेपालमा लागू पदार्थ दुर्व्यसनी बढिरहेको अवस्थामा त्यसको न्यूनीकरण गर्न भक्तपुरका विद्यालयहरूमा लागू पदार्थ दुर्व्यसनीविरुद्धको जनचेतनामूलक प्रशिक्षण दिइएको छ। लागू पदार्थ दुर्व्यसनी जल्दाबल्दो समस्याको रुपमा लिएका जिल्ला एड्स समन्वय समिति भक्तपुरले एच.आई.भी र एड्स रोगको साथै क्षयरोगसमेत बढेर जाने भएकोले त्यसलाई रोक्न नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको सहकार्यमा यो अभियान थालेको कुरा जिल्ला एड्स समन्वय समिति भक्तपुरका संयोजक शंकर बस्नेत बताउनुहुन्छ।
भक्तपुरमा चुरोट, गाँजा र लागू पदार्थको साथै मध्यपान सेवन गर्ने धेरै जसो विद्यालय र कलेजका विद्यार्थीहरू भएकोले विद्यालयलाई नै लक्षित गरी यो कार्यक्रम गरेको उहाँले बताउनुभयो।
युवाहरूमा साथीहरूको सङ्गतले गर्दा कुलतमा फसेर दुर्व्यसनीमा लाग्नेहरू अहिले र्याप सेन्टरहरूमा राखेर उपचार गरिरहनुपरेको त्यसलाई रोक्न विद्यालय र कले स्तरमा प्रशिक्षण कार्यक्रम अनिवार्य भएको कुरा भक्तपुर उपचार तथा पुनर्स्थापना केन्द्र भक्तपुरका इन्चार्ज सुरेन्द्रविक्रम ध्वान्जुले बताउनुभयो। उहाँका अनुसार भक्तपुरमा ९५८ जना दुर्व्यसनीमा फसेकाहरू छन् भने र्याप सेन्टरहरूमा ३२० जना उपचाररत रहेका छन्।
नेपाल क्षयरोग निवारण संस्था भक्तपुर र जिल्ला एड्स समन्वय समिति भक्तपुरको संयुक्त रुपमा सञ्चालन भएको विद्यालयस्तरीय प्रशिक्षण कार्यक्रम विनायक शिक्षा निकेतन मा.वि. चपाचो, थिमि, आदर्श उच्च मा.वि. लाय्कू थिमि, श्रीपद्म उच्च मा.वि. भक्तपुर, विद्यार्थी निकेतन उच्च मा.वि. भक्तपुर, समाज सुधार मा.वि. भक्तपुर, शान्ति निकेतन मा.वि. राम मन्दिर भक्तपुर, ज्ञान विजय नि.मा.वि. भक्तपुर, शंखधर मेमोरियल इङ्गलिस सेकेण्डरी स्कूल, दधिकोट, नौलो ज्योति अङ्ग्रेजी मा.वि. थिमि र गणेश मा.वि. ताथली भक्तपुरमा दिनुभएको थियो।
विद्यालयका हजारौं विद्यार्थीहरूलाई लागू पदार्थ दुर्व्यसनी, एचआईभी र एड्स तथा क्षयरोगका बारेमा प्रशिक्षण दिनुभएको थियो। उक्त प्रशिक्षणमा नेपाल क्षयरोग निवारण संस्थाका सचिव राम सिख्वःले क्षयरोगका बारेमा, एचआईभी र एड्सका बारेमा दिनेश श्रेष्ठ र लागू पदार्थ दुर्व्यसनीका बारेमा सुरेन्द्रविक्रम ध्वान्जुले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा क्षयरोग संस्थाका विमला प्रजापतिले सहप्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
प्रशिक्षण कार्यक्रम दसवटा विद्यालयमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका सभापति बाबुकाजी श्रेष्ठले भक्तपुरमा लागू पदार्थ दुर्व्यसनी, एचआईभी/एड्स र क्षयरोगविरुद्धको अभियानमा जुन जिल्ला एड्स समन्वय समितिले सुरुवात गरेको हुनाले समितिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समाजमा समस्याको रुपमा रहेका दुर्व्यसनी र रोगका विरुद्ध लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै लागू पदार्थ दुर्व्यसनी, एचआईभी/एड्स र क्षयरोगविरुद्धको अभियान राष्ट्रिय अभियान भएकोले सम्पूर्ण पक्षबाट सहयोग गर्न अनुरोध गर्नुभयो। |