गृहकार्य र छलफलविनै नपा घोषणा गर्न सिफारिस
भक्तपुर, २ असार। नगरपालिका बन्नका लागि आवश्यक पूर्वाधार तयार नभए पनि नगर निर्धारण समितिले नपा घोषणाको सिफारिस गरेको छ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट नगरपालिका घोषणाका लागि समितिलाई पत्राचार गरेपछि समितिले पर्याप्त छलफलबिनै नपा बनाउन सिफारिस गरेको हो। स्थानीय विकास अधिकारी अर्जुनकुमार थापा संयोजक तथा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र जिविस योजना अधिकृत सदस्य सचिव रहेको उक्त समितिले सोमबार मन्त्रालयसमक्ष सिफारिस गरेको समितिका सदस्य सचिव धोलकराज ढकालले बताउनुभयो।
उहाँले नगरपालिका बनाउने वा नबनाउने विषयमा गाउँस्तरका राजनीतिक दलदेखि जिल्लास्तरीय दलका प्रतिनिधिहरूबीच छलफल भएको जानकारी दिनुभयो। समितिले गरेको सिफारिसमा सिङ्गो भक्तपुर जिल्लालाई नै एक उपमहानगरपालिका बनाउनुपर्ने वा विद्यमान नपाबाहेक अन्य ४ वटा नपा थप गर्नुपर्ने र थप हुने नपाको नामकरण, सिमाङ्कन र वडा विभाजनका लागि विज्ञ टोलीले काम गर्नुपर्ने बुँदा उल्लेख रहेको भनाइ छ।
जिल्लामा नपा थप गर्ने या उपमहानगरपालिका बनाउने विषयमा राजनीतिक दलहरूबीच फरक धारणा रहेको छ। नेपाल मजदुर किसान पार्टीले नगरपालिका बनाउनका लागि हतार गर्न नहुने, जनताबीच व्यापक छलफल गर्नुपर्ने, पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने धारणा अघि सारेको छ। अन्य दल भने जसरी भए पनि र जस्तोसुकै अवस्थामा नपा घोषणा गराउन हतारिएका छन्।
समितिले सिफारिस गरेको पत्रमा अहिले विद्यमान १६ गाविसहरूमध्ये बालकोट, सिरूटार, दधिकोट र गुण्डू मिलाएर एउटा नपा, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल मिलाएर अर्को, ताथली, सुडाल, बागेश्वरी र नगरकोट मिलाएर एक र छालिङ, झौखेल, चाँगुनारायण र दुवाकोट मिलाएर एउटा नपा बनाउने प्रस्ताव उल्लेख छ। समिति सदस्य सचिव ढकालका अनुसार नपा निर्धारणका लागि समितिले जिल्लामा ७ पटक छलफल गरिएको थियो।
|