बजेटको भाषा फेरिए पनि उद्देश्य एउटै हुने
काठमाडौं, २ असार। व्यवस्थापिका–संसदको बैठकमा आर्थिक वर्ष २०७१/७२ को पूर्वबजेटको सिद्धान्त र प्राथमिकताबारे सोमबार छलफल भयो।
बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पदमा बस्दा के कस्ता आर्थिक प्रगति गरियो भन्ने दृष्टिकोणले आलोचना र विरोध हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले पूँजीवादको भारी बोक्नेहरूले नै पूँजीवादी बजेटलाई आलोचना गर्दा नीतिमा होइन आफूले पद नपाएकै दुःखेसो पोखेको अनुभव भएको उल्लेख गर्नुभयो। उहाँले नेपालमा लगाइएका स्वयंकर निर्धारण होस् वा अन्य शुद्धीकरण कर वा प्रगतिशील कर होस्, कालो धन, कर छल्ने, बैङ्कमारा, सहकारीको नामको ठगी, म्यानपावरको नाममा सस्तोमा नेपालीहरूलाई ज्यामीको रूपमा बहुराष्ट्रिय कम्पनीहरूलाई पठाउने गल्लावाला र विद्युत् एवम् पेट्रोलियम पदार्थको चोरीको सम्पत्ति आदि कालो धनलाई गंगाजल छर्कने उपाय हो भन्नुभयो।
गाँसेगुसे एकैनासे भनेजस्तै हिजोका बजेटहरू, आजको पूर्वबजेट र भोलि आउने बजेटको भाषा फेरिए पनि उद्देश्य एउटै हुने निश्चित भएको भन्दै अध्यक्ष रोहितले अत्यन्त बहुमत जनतालाई मूल्यवृद्धिबाट थप गरिबीको उपहार र करोडपतिलाई अरबपति बनाउने पूँजीवादी बजेट आउने उल्लेख गर्नुभयो।
उहाँले भूमिको उपयोग, पर्यटन उद्योगमा १५ वर्षसम्म कर छुट, २०० नयाँ नगरपालिकाहरूको घोषणा आदि घर–जग्गा व्यापारी, भू–माफिया वा अपराधी गिरोह र निर्माण व्यवसायी भनिने ठेकेदारहरूलाई देशको विकास सुम्पने षड्यन्त्र भएको उल्लेख गर्दै क्रान्तिकारी भूमिसुधारको अर्थ हदबन्दीभन्दा बढीको भूमिलाई सरकारले क्षतिपूर्ति दिएर जग्गा लिने काम सामन्त वर्गलाई पूँजीपति वर्ग बनाउने योजना होइन र विश्वव्यापीकरण उपनिवेशवादको पुनःस्थापना र नयाँ बजारको निम्ति पूँजीवादी हानथापको नयाँ संस्करण हो भन्नुभयो।
बैठकमा २५ जना सभासद्हरूले बोल्नुभएको थियो। बोल्ने अधिकांश वक्ताहरूले सरकारले कृषि, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य र संसद विकास कोषलाई बजेट बढाइ प्रत्येक निर्वाचन क्षेत्रमा रू. पाँच करोड बजेट विनियोजन गर्नुपर्ने बताए।
जेठ ३०, असार १ र २ गते तोकिए पनि सत्ता पक्ष र प्रमुख प्रतिपक्षका सभासद्हरूले बोल्न नपाएकाले असार ३ र ४ गतेको दिन थप गरिएको छ। बैठक मङ्गलबार दिनको ३ बजे बस्नेछ। |