निकुञ्जका हात्ती साङ्लो मुक्त
रत्ननगर (चितवन), ३ असार। एक करोडभन्दा बढीको लगानीमा चितवन निकुञ्जमा पालिएका हात्तीहरूलाई साङ्लो मुक्त गरिएको छ।
निकुञ्जले पालेका हात्तीहरूलाई यसअघि खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिएकामा अभियान सफल भएपछि अहिले भने निश्चित क्षेत्र छुट्याएर हात्तीहरूलाई खुला छाड्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले बताउनुभयो।
यहाँका १३ वटा हात्तीसारमा रहेका चार दर्जनभन्दा बढी हात्तीलाई साङ्लो मुक्त गरिएको छ। मुख्यगरी साङ्लाले बाँधेर राख्दा हात्ती रिसाउने र मानिसलाई समेत आक्रमण गर्ने गरेकामा अब खुला राखेपछि हात्तीको जीवनयापनमा सहज हुने र रिसाउने क्रम कम हुने पशु अधिकारकर्मीले बताएका छन्।
हात्ती साङ्लो मुक्त गरिएसँगै निश्चित क्षेत्र छुट्याएर सौर्य तारबार गरिएको छ। इलेफेन्ट एड इन्टरनेसनल अमेरिकाको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको हो। जुन तारबारको विद्युतीय झड्काका कारण जङ्गलीहात्तीसमेत आउन सक्दैन।
विगत तीन महिनादेखि सुरु भएको अभियान सम्पन्न भएपछि सबै प्रक्रिया इलेफेन्ट एड इन्टरनेसनलले चितवन निकुञ्जलाई हस्तान्तरण गरेको छ। यसअघि चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा यो प्रविधि सफल भएपछि चितवन निकुञ्जका सबै हात्तीसारमा प्रयोग गरिएको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले बताउनुभयो।
हात्तीको सरसफाइका लागि चाहिने आवश्यक सामग्रीसमेत सो संस्थाले निकुञ्जलाई उपलब्ध गराएको जनाएको छ। यो कार्यक्रमसँगै हात्तीको आनीबानीमा परिवर्तन हुने र खुला महसुस हुने भएपछि हात्ती रिसाउने क्रम रोकिने विश्वास निकुञ्जको छ।
चितवन निकुञ्जमा पालिएका ५० भन्दा बढी हात्ती यहाँको सुरक्षा, चोरी–सिकार नियन्त्रण, अन्य वन्यजन्तु पक्रनका लागि प्रयोग हुँदै आएका छन्। रासस
|