पन्ध्र वर्षदेखि भारी बोक्दै
डोल्पा, ३ असार। विगत पन्ध्र वर्षदेखि भारी बोकेर बिहान बेलुकीको गुजारा टार्दै आएकी ६५ वर्षीया धनिशा वलीको अझै थाप्लोमा नाम्लो र पिठ्यूँमा भारी छुटेको छैन।
रुकुम जिल्ला सक्ला गाविस वडा नं २ कि धनिशा श्रीमान्को निधनपछि बालबच्चालाई पढाउन लेखाउन र परिवारमा बिहान बेलुकीको छाक टार्नसमेत कठिन भएपछि डोल्पामा कमाइ धेरै हुन्छ भन्ने सुनेर आफू २०५५ सालमा डोल्पा आएको उनले बताइन्।
तीन छोरी र एक छोरा कि आमा उनी अहिले जुफाल विमानस्थलदेखि सदरमुकाम दुनैसम्म सामान ओसारपसार गनर्ेे गर्छिन्। बिहान भालेको डाकोसँगै हतारले जुफाल विमानस्थल पुग्ने उनी कहिलेकाहीं भारी नपाउँदा दुःखी हुने बताउँछिन्। अहिले सदरमुकाम दुनैदेखि जुफाल विमानस्थलैसम्म चलेका दुई वटा ट्याक्टर र चार वटा जिपले नै सामान ओसारपसार गर्ने भएकाले भारी पाउन गाह्रो हुन थालेको उनी बताउँछिन्।
दसैं तिहारलगायतका मुख्य चाडपर्वमा समेत आफू अहिलेसम्म घर नगएको उनले बताइन्। पन्ध्र वर्षपछि आगामी दसैंमा भने घर जाने सुरमा उनी छिन्। सुरुमा प्रतिकेजी रु. ६ मा भारी बोक्दैआएकी उनी अहिले ज्याला बढेर रु १२ पुगेको बताउँछिन्।
अहिलेसम्म भारी बोकेरै रु. आठ लाखसम्म कमाइ गरेको र सो रकम सबैै घरमा बालबच्चाको पढाइ लेखाइमा खर्च गरेको उनले बताइन्। |