बासु उमाविमा बधाई कार्यक्रम
भक्तपुर, ३ असार। बासु उच्च माध्यमिक विद्यालयको आयोजनामा एसएलसी परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई मङ्गलबार बधाई कार्यक्रम भयो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सभासद् प्रेम सुवालले भक्तपुरलाई सांस्कृतिक एवं ज्ञान विज्ञानको केन्द्र बनाउन विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, 'हामी एक घर एक स्नातकबाट अगाडि बढेका छौं। नयाँ पुस्ताले कम्तीमा अब स्नातक गर्नु आवश्यक छ। समाजलाई बुद्धिजीवीकरण गर्न हामी सबै लाग्नु आवश्यक छ।' सभासद् सुवालले राजनीतिमा लागेर अर्थमन्त्री बनेर पैसा कमाउनु होइन भन्दै विद्यार्थीहरूले राजनीतिशास्त्र अध्ययन गरी बहुमत कामदार पक्षमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'तल्लो वर्गका जनतालाई माथि उठाउन र अन्यायमा परेकालाई न्याय दिलाउन आफूले अध्ययन गरेको तथा सिकेको ज्ञानलाई उपयोग गर्नुपर्छ। नयाँ पुस्ता लागूपदार्थबाट टाढा रहनुपर्छ। विद्यमान कुरीति र कुसंस्कारलाई परिवर्तन गर्नुपर्छ।' विद्यालयका प्राचार्य अम्बिका न्याइच्याईले विद्यालयको विभिन्न गतिविधि र स्थितिबारे जानकारी गराउँदै समाजलाई सुसंस्कृत र परिवर्तन गर्न शिक्षा आवश्यक भएको बताउनुभयो।
कार्यक्रममा सहप्राचार्य लक्ष्मीभक्त लासिवा, शिक्षकहरू रामहरि ताम्राकार, प्रेमकुमार मगर, नारायणप्रसाद ह्यौंमिखा, हरिप्रसाद बासुकला र विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी धनबहादुर तामाङले पनि बोल्नुभएको थियो।
|