साँखुमा नेमकिपाको चुनावी जनसभा
काठमाडौं, ३ असार। असार ८ गतेको उपनिर्वाचनका लागि काठमाडौं क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीले प्रचारात्मक गतिविधिलाई निरन्तरता दिएको छ।
प्रचार गतिविधिअन्तर्गत मङ्गलबार काठमाडौंको साँखु गाविस, सुनटोलमा नेमकिपा काठमाडौं क्षेत्र नं. २ उपनिर्वाचन प्रचार समितिको आयोजनामा जनसभा भयो।
साँखु बजारमा नाराबाजीसहितको परिक्रमापश्चात् आयोजित सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य एवं सभासद् प्रेम सुवालले शासक दलहरूका नाम फरक भए पनि आर्थिक कार्यक्रम एउटै हुनुले तिनीहरूको प्रवृत्तिमा कुनै अन्तर नरहेको बताउनुभयो।
मार्क्सवादमाथि दक्षिणपन्थी र वामपन्थी दुवै धारबाट आक्रमण भइरहेको चर्चा गर्दै उहाँले काङ्ग्रेस, एमाले, एमाओवादी, राप्रपालगायतका दलहरूले व्यापक जनताको हितमा संविधान निर्माण गर्न नसक्ने ठोकुवा गर्नुभयो।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौंका क्षेत्र नं. २ का उम्मेदवार सनकमान महर्जनले ठूला दलहरूले लोकतन्त्रको नाममा भागवण्डा र विदेशी शक्तिको दलाली गरिरहेको बताउनुभयो।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले बारम्बार जनताको भावना लत्याउने दलहरूलाई जनमतमा पराजीत गर्न अपरिहार्य भएको बताउनुभयो।
सभामा नेक्राविसङ्घका केन्द्रीय सचिव नीरज लवजू र केन्द्रीय सदस्य सविन ख्याजूले पनि बोल्नुभएको थियो। |