गणेश माविमा बधाई ज्ञापन तथा मार्ग निर्देशन कार्यक्रम
भक्तपुर, ४ असार। गणेश मावि सिपाडोलबाट प्रवेशिका परीक्षा २०७० मा उत्तीर्ण हुन सफल विद्यार्थीहरूको सम्मानार्थ बधाई ज्ञापन तथा मार्ग निर्देशन कार्यक्रम मङ्गलबार सम्पन्न भयो।
कार्यक्रममा नेक्राशिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले भक्तपुरका अग्रज समाजसेवीहरूको योगदानका कारण भक्तपुर जिल्लाको शैक्षिक स्तर अपेक्षित सुधार भएको बताउनुभयो।
शारदा उच्च माविका प्राचार्य उद्धव सुजखूले हरेक विषयको महत्त्व त्यति नै रहने हुँदा आफ्नो मनले खाएको विषयमा अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल क्रान्तिकारी विद्याथी सङ्घका केन्द्रीय सचिव नीरज लवजूले शासक वर्गले नियोजित रुपमा शिक्षामा विभेद कायम गरेको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणबहादुर दुवाल, सहायक प्रअ मीना मास्के, शिक्षकहरू रवीन्द्रकुमार थापा र हरिसुन्दर पोतामाहाँ तथा विद्यार्थी दीक्षा भण्डारीले पनि बोल्नुभएको थियो।
|