September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ढृढताका साथ अघि बढेका सुशील

– हरिसुन्दर छुकां 

भक्तपुर, ४ असार। भक्तपुर नगरपालिका वडा नं. १५ मिबाछेंका सुशील देउपालाको यो वर्षको एसएलसी परीक्षामा अपेक्षाअनुसार नतिजा आएन। 'सर्वोत्कृष्ट' नतिजा ल्याउन परीक्षा दिइरहेको बेलामात्र नभएर अन्य समयमा पनि दृढता लिएर मिहिनेत गरेका थिएउनले। तैपनि उनले अपेक्षा गरेअनुसारको 'रिजल्ट' आफ्नो पोल्टामा पार्न सकेनन्। तैपनि उनलाई कुनै गुनासो छैन। उनी खुसी नै छन्। 'अपेक्षा गरेजस्तै गरी 'रिजल्ट' नआए पनि मेहेनतअनुसार आएको छ। 'रिजल्ट'ले मन आनन्द बनाइरहको छ।' उनले भने। 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रकाशन गरेको एसएलसी परीक्षा २०७० को नतिजाअनुसार उनले ९२ दशमलव ५ प्रतिशत अर्थात् कूल ८ सयमा ७ सय ४० अङ्क हासिल गरे। 'मैले ९४ को आशा राखेको थिएँ, 'अप्सनल म्याथ', नेपाली , सोसल स्टडीज् र इङ्गलिशमा नम्बर घटेछ।' उनले भने। उनले हासिल गरेको अङ्कका अनुसार उनी अहिले नेपालभरका कूल उत्तीर्ण विद्यार्थीमध्ये उत्कृष्ट दश विद्यार्थीमध्ये सातौं क्रममा रहेका छन् भने जिल्लामा दोस्रो।  

भक्तपुर नगरपालिका वडा नं. १५ शहिदस्मृति खेलमैदानस्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलका १७ वर्षीय देउपालाले यो वर्षको एसएलसी परीक्षामा स्कूल टपमात्र नभएर संस्थागत विद्यालय सङ्घ नेपालकै सर्वाेत्कृष्ट विद्यार्थी बने। उनले परीक्षामा नेपालीमा ९१, गणितमा ८६, अङ्ग्रेजीमा ९१, विज्ञानमा ९९, सामाजिक शिक्षामा ८७, वातावरण जनसङ्ख्या शिक्षामा ९३, लेखामा ९३ र ऐच्छिक गणितमा ९२ ल्याएका थिए। 'सोसल स्टडीज्मा नम्बर नपुगेको कारण जिल्ला टप गर्न थोरै नम्बरले साथ दिएन।' उनले भने। विद्यालयका अनुसार उनी एकमात्र त्यस्ता विद्यार्थी हुन सक्छन् जसले विज्ञानमा १०० मा ९९ अङ्क ल्याए। 

परीक्षाको समयमा मात्र नभएर नियमित अध्ययन र अभ्यासका कारण नै आफूले सफलता पाएको उनले बताए। परीक्षाको बेलामात्र धेरै समय दिएर हुँदैन, आफू के बन्ने हो? त्यसका लागि आफूले कस्तो तयारी गर्नुपर्छ भन्ने बुझेर सुरूदेखि नै निरन्तर अभ्यास गरेको खण्डमा सफलताको लागि बाटो खुल्ने अनुभव सुनाए। उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि कक्षा ११ मा विज्ञान सङ्कायमा भर्ना हुने निश्चित गरिसकेका छन् तर कुन कलेज पढ्ने भन्ने निर्क्योल भने गरिनसकेको बताए। 'म सानैदेखि डाक्टर बन्नुपर्छ भन्ने लक्ष्य लिएर पढ्थें, त्यहीअनुसार स्कूलका किताबमात्र नभएर अन्य बाहिरी किताबहरू पनि पढ्थें, त्यसले मलाई र जाँचमा पनि सहयोग गर्‍यो।' उनले भने। डाक्टर बनेर सेवा गर्नुमा आनन्द अरू पेशामा नआउने बुझाइका कारण उनले सो लक्ष्य बनाएको बताए। 

निम्नवर्गीय परिवारमा जन्मिएका उनले १० वर्षभन्दा बढी बुबाको स्नेह पाएनन्। दैनिक मजदुरी गरेर गुजारा चलाउने उनकी आमा पूर्णमाया, बाजे र बज्यै पनि उनको सफलतासँगै दङ्ग भएका छन्। छोरा र नातिको सफलताले खुसी बनाएको छ, देउपालाको परिवारलाई। 'सानैदेखि आमा र बाजे राम्रो पढ्नुपर्छ, असल मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो, त्यही कुराले मलाई उत्साहित बनायो।' उनी थप्छन्। स्कूलमा पनि उनी कहिल्यै दोस्रो हुन परेन र विभिन्न शुल्क पनि तिर्नुपरेन। 

पढाइबाहेक वाक्पटुता, कविता लेखन, बुद्धिचालजस्ता खेलमा पनि निपुण देउपालाले जीवनमा पढाइको ज्यादै महत्त्व रहेकोले आफ्नो सफलताको कारणमा आफूमात्र नभएर विद्यालय, शिक्षकशिक्षिका, अभिभावक, साथीसङ्गतिहरूको भूमिका पनि उत्तिकै रहेको बताए। 'सबैले मलाई तिमीले यस्तो किसिमले पढ्यौ भने त अवश्य पनि राम्रो गछर्ौं भनेर भन्ने गर्थे, त्यसले मलाई भित्रैदेखि आँट बढ्थ्यो।' उनको भनाइ छ। नभन्दै उनले त्यो आँटलाई प्रमाणित गरेर छाडेको विद्यालयका शिक्षक शिक्षिकाहरूले बताए।  

विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासु र शिक्षक श्याम मातांका अनुसार सानैदेखि मिलनसार र प्रतिभावान विद्यार्थी देउपालाले नामअनुसारको काम गरेर देखाएको बताए। 'उनको मिहिनेत र जिम्मेवारबोधले त स्कूलको इतिहास नै निर्माण गरिदिएको छ।' स्कूलका प्रिन्सिपल त्वानाबासुले भने। शिक्षक मातांले उनी स्कूलकै गौरव बनेको प्रतिक्रिया दिंदै उनको लक्ष्यको लागि स्कूलले सक्दो सहयोग गर्ने पनि बताए।